• २०८३ असार ८
  • 2026 June 22, Monday

भीम रावललाई बालेन साहले फर्काए कडा जवाफ : तपाईंहरूलाई जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई कडा जवाफ फर्काएका छन् ।

नेकपा एमालेका नेता रावलले परराष्ट्र मन्त्रालय स्वीकृती लिएर अमेरिकी राजदूतसँग भेटेको हो कि होइन भनेर सामाजिक सञ्जालमा सोधेका थिए ।

त्यसको जवाफ सामाजिक सञ्जालबाटै दिँदै बालेनले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’

मेयर साहले आफूहरुलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नरहेको पनि बताएका छन् ।

‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौं,’ उनले लेखेका छन्, ‘एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’