यस्ता छन् नयाँ सरकारका चुनौती

काठमाडाैं । अहिले नयाँ सरकार बनाउन सत्ता गठवन्धनसहित प्रतिपक्षी दल नेकपा एमाले पनि गृहकार्यमा जुटेको छ । जसले बहुमत जुटाउन सक्छ त्यसैले नयाँ सरकारको नेतृत्व गर्नेछ ।

जसले सरकार बनाए पनि मुलुकसामु देखा परेका केही चुनौतीको डटेर सामना गर्नुपर्ने अवस्था छ ।

धेरैका बुझाइमा अहिलेको सत्ताधारी गठबन्धनले नै आगामी सरकार बनाउने देखिन्छ । राजनीतिक समीकरण हेर्दा त्यो अवस्था पनि देखिन्छ ।

सबैभन्दा ठूलो दल बन्ने देखिएको नेपाली कांग्रेसभित्रै प्रधानमन्त्री तथा अन्य पदका लागि आकांक्षी धेरै हुनुले सरकार गठन ‘सकसपूर्ण’ हुनसक्ने कतिपयको अनुमान छ । जसको नेतृत्वमा सरकार बनेपनि सरकारले सुरुमै सामना गर्नुपर्ने केही चुनौत देखा परेकाछन । ती मध्ये एउटा हो राजनीतिक अस्थिरता ।

राजनीतिक अस्थिरताको डर र जुनसुकै बेला सरकार ढल्न सक्छ भन्ने चुनौतीले नयाँ सरकारलाई आनन्दसंग राजकाज गर्न दिने छैन । अहिलेको गणित हेर्दा मिलिजुली सरकार बन्ने निश्चित छ तर नेपालमा मिलीजुली सरकारसम्बन्धी संस्कार बसेको देखिँदैन । सानो कुरामा चित्त नबुझ्ने बित्तिकै सरकार ढाल्ने वा अस्थिरता निम्तिने संस्कार छ ।

दोस्रो चुनौती हो संघीयता कार्यान्वयन

संघीयतालाई संस्थागत तथा कार्यान्वयन गर्ने कुरामा अवरोध झन बढ्ने देखिन्छ । चुनावबाट संघीयता विरोधी र प्रदेशप्रति अनुदार शक्तिको उदयका कारण यो समस्या बल्झिन सक्छ ।

यो निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दलको रूपमा उदाएको छ भने राप्रपा पनि संसद्मा थप सशक्त बनेको छ।

तेस्रो चुनौती हो आर्थिक संकट

गत वर्षदेखि नै नेपाली अर्थतन्त्र संकटमा छ । केही सुधारको सङ्केत देखिने तर फेरि केही आर्थिक पाटाहरूमा जटिल समस्या देखिने क्रम नरोकिएकाले कुनैपनि बेला आर्थिकस्थिति धराशायी हुनसक्छ ।

चर्को मूल्यवृद्धि, उच्च ब्याजदर, बेरोजगारी र अनावश्यक प्रशासनिक खर्चको बोझ जस्ता कुरालाई नियन्त्रण गर्नतर्फ सरकार नलागे त्यसले ठूलो सङ्कट निम्त्याउन सक्छ ।

चौथो चुनौती हो वैदेशिक सम्बन्धमा सुधार

परराष्ट्र मामिलामा नेपालको कमजोर उपस्थिति देखिएको तथा कतिपय अवस्थामा नेपाल शक्ति राष्ट्रहरूको टकरावको केन्द्र बन्ने हो कि भन्ने चिन्ता बढेको छ ।
त्यसलाई “सन्तुलन”मा राख्ने चुनौती नयाँ सरकारलाई हुने निश्चित छ ।

कतिपयले नेपालले अमेरिकी सहायता परियोजना एमसीसी पास गरेपछि नेपाल चीन र अमेरिकाको चेपुवामा पर्ने चिन्ता पनि व्यक्त गरिरहेका छन्। यस्तोमा नेपालले सन्तुलित नीति लिएर छिमेकी र अन्य मुलुकसँगको सम्बन्ध सुमधुर बनाउने चुनौती रहेको छ ।

पाँचौ चुनौती हो दल र सरकारको साख जोगाउनु

अब बन्ने सरकारका लागि विशेषगरी राजनीतिक दल तथा सरकारमाथि घटेको जनविश्वासलाई बढाउनुपर्ने चुनौती छ । पुराना दल मात्र होइन नयाँ दलहरूलाई पनि आफ्नो साख जोगाउने सकस छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७