• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

एमाले सरकार गठनको दौडमा छैन : उपाध्यक्ष पाण्डे

चितवन । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे।

उनले भने, ‘अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ ।’ अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए । संसद्मा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दिने गरी काम गर्न नसक्ने उनकाे भनाइ थियो ।

देशमा आर्थिक र राजनीतिक सङ्कट देखा परे कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने उनले बताए । निर्वाचनमा जनताले पुराना ठूला पार्टीलाई सजग गराउन खोजेको भन्दै उपाध्यक्ष पाण्डेले अब ठूला पुराना पार्टी सच्चिनुपर्ने अवस्था आएको बताए । ‘एमाले र कांग्रेस सच्चिनुपर्छ’ उनले भने ।

जनता हिजोदेखि स्थापित पार्टीको पक्षमा देखिए पनि खबरदारी गरेको पाइएकाे र तत्काल वाम एकता सम्भव नरहेको उपाध्यक्ष पाण्डेको भनाइ छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सबै दलले आफ्नो मत गुमाउन पुगेकाले अबको राजनीति सहज नहुने उनले बताए ।