देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ : अध्यक्ष नेपाल

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उनले देशले एकता र साझा सहमतिको विन्दु खोजेको बताए ।

जनताले निर्वाचित गरेका नेताहरुले आफूप्रति इमान्दारिता र जनताप्रति बफादार भएर लाग्नुपर्ने भन्दै उनले भने, ‘हामी आफ्ना आफ्ना खुबी, क्षमता, वाक कटुता, व्यक्तिको छाप प्रयोग गरी राजनीतिक खेलको मैदानबाट उत्रिएका छौँ, जित्नु ठूलो कुरा होइन, जनतासँग हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ, त्यो पूरा गर्न इमान्दार र जनताप्रति बफादार भएर काम गर्नुपर्छ ।’

चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न जनतासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले जनताको आवाज सुन्ने, उनीहरुको पीडालाई सम्बोधन गर्ने, जनताको असीमिति चाहना, इच्छा र माग पूरा गर्न तथा अत्यावश्यक चाहनालाई पूरा गर्ने काममा लाग्नुपर्नेमा जोड दिए । जनताले मन पराएका छैनन् भने नेताहरुले फकाउन सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनतालाई फकाउन, मिलाउन र साथमा लिएर समस्या समाधानमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा भक्तपुर क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सभापति दुर्लभ थापाले अहिलेको आवश्यकता सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि देशमा स्थायित्व दिन सक्ने, समृद्धिका लागि कहीँ, कतै नअलमलीकन अगाडि बढ्ने गरी स्थिर सरकार निर्माण गर्नुपर्ने बताए ।

भक्तपुर क्षेत्र नं २ (१) बाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य किरण थापाले भोट माग्न जाँदा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए । भक्तपुर क्षेत्र नं २ (१) बाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले व्यवस्थित रुपमा विकासका पूर्वाधार निर्माण गर्दै जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताए ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७