गगनमाथि घेराबन्दी

काठमाडाैं । अहिले प्रधानमन्त्री बन्ने विषयलाई लिएर मुलुकको राजनीति ठ्याक्कै दुई भागमा विभाजित छ । एकातर्फ गगन थापा छन् भने बाँकी अर्कोतर्फ ।

थापाले निर्वाचनमा उम्मेदवारी मनोनयनसँगै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गरेपछि सम्पूर्ण राजनीतिक नै तरंगित भएको थियो । उनको पार्टी नेपाली कांग्रेस, सत्ता गठबन्धन र विपक्षी नेकपा एमालेभित्र पनि यसले चर्चा पाएको थियो । चर्चा अहिले पनि छ ।

कतिपयले थापाको प्रधानमन्त्री बन्ने अभियानलाई चुनाव जित्ने स्टन्टकारुपमा लिए । थापाकै प्रतिष्पर्धी एमाले नेता डा. राजन भट्टराईले चुनाव जित्न अपनाइएको हत्कन्डाबाहेक अरु केही नभएको टिप्पणी गरेका छन् ।

डा. भट्टराई भन्छन्, ‘संसदीय दलमा सभापति शेरबहादुर देउवाको स्पष्ट बहुमत छ । देउवाले जसलाई समर्थन गर्छन् त्यही संसदीय दलको नेता हुन्छ । प्रधानमन्त्रीमा प्रतिष्पर्धा गर्ने दलको नेताले हो । गगन थापा दलको नेता चुनिने आधार नै छैन । उनले चुनाव जित्न मतदातालाई प्रभावित मात्र गर्न खोजेका हुन् ।’

थापाले चुनाव जितेकै दिन प्रधानमन्त्रीको तयारी सुरु गरिसकेको बताएका थिए । उनले के तयारी गरिरहेका छन् त्यो खुलेको छैन । तर, पार्टीबाट निर्वाचित र समानुपातिकबाट आउने नेताहरुसँग उनले सम्पर्क बढाएका छन् । उनको सचिवालयले यसमा निरन्तर काम गरिरहेको छ ।

थापालाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बनाउने अभियानका अर्का प्रमुख पात्र हुन् महामन्त्री विश्वप्रकाश शर्मा । शर्मा खुलेरै थापाको पक्षमा लागेका छन् ।

थापा निकट कांग्रेस युवा नेता सचिन तिमिल्सिना भन्छन्, ‘संसदीय दलको निर्वाचन हुनेबेला अन्य गुटमा रहेको भनिएका सांसदहरुले थापालाई मतदान गर्नेछन् । धेरैजसो सांसदहरुले तत्काल खुलेर आउन नसके पनि मतदानको समयमा थापालाई मत दिने बचन दिएका छन् ।’

थापालाई दलको नेताबाट प्रधानमन्त्री बनाउन चाहनेहरुमा सहयोगी भन्दा असहयोगी बढी देखा पर्न थालेका छन् । यसले गगनको अभियानमा गम्भीर धक्का पर्न सक्छ ।

चुनावपछि पहिलोपटक बसेको सत्ता गठबन्धनको बैठकमा थापा र शर्मालाई बोलाइएन । जबकी कांग्रेससहित अन्य दलका दोस्रो तहका नेताहरु पनि बैठकमा सहभागि थिए । गठबन्धनको बैठकमा नबोलाउन देउवालाई पार्टी भित्रैबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको दबाब परेको बुझिएको छ । पौडेल आफैँ पनि प्रधानमन्त्री बन्ने अभियानमा छन् । थापाले थालेको अभियानबाट उनी रुष्ट छन् ।

डा. शेखर कोइरालाले पनि गगनलाई समर्थन नगर्ने संकेत गरिसकेका छन् । एउटा राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले घुमाउरो रुपमा आफ्नो आशय प्रकट गरेका छन् । थापाले भने डा. शेखरले आफूलाई समर्थन गर्ने आशा गरेका छन् ।

कोइराला निकट नेताहरुका अनुसार गगनले सल्लाह नै नगरी एकलरुपमा अभियान थालेकोप्रति कोइराला सन्तुष्ट छैनन् ।

डा. मिनेन्द्र रिजालले पनि सार्वजनिक सञ्चार माध्यममा गगनलाई प्रोजेक्ट गभरमेन्ट थाँती राखी मिसन गभर्मेन्टमा लाग्न सुझाव दिएका छन् ।

केन्द्रीय सदस्य एनपी साउद, रमेश लेखक, गोविन्द शाह लगायतले प्रधानमन्त्रीमा देउवा लगभग निश्चित भएकाले अन्यहरुको चाहना प्रजातान्त्रिक अभ्यासका लागि उचित नै हुने बताएका छन् ।

पार्टीकै सहमहामन्त्री किशोरसिंह राठोरले त गगनलाई कटाक्ष गर्दै आफू पनि प्रधानमन्त्रीको उम्मेदवार रहेको भन्दै जवाफ फर्काएका छन् ।

युवा नेताहरु रामहरि खतिवडा, प्रदीप पौडेल, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे लगायतले पनि यो विषयमा मुख खोलेका छैनन् । आउँदो सरकारमा मन्त्रीका प्रबल दाबेदार रहेकाले पनि उनीहरु मौन रहेको बुझ्न सकिन्छ । मन्त्रिपरिषद्मा उनीहरुले भाग पाउने अवस्थामा गगनका लागि यो दुर्भाग्य हुनसक्छ ।

सत्ता गठबन्धनका साझेदार दलका नेताहरु प्रचण्ड, माधव नेपाललगायतले देउवासँग आलोपालो प्रधानमन्त्रीका लागि छलफल चलाएका छन् । गठबन्धनले यसको जिम्मा देउवा र दाहाललाई दिएको छ । यसरी हेर्दा गठबन्धनकै शीर्ष नेताहरुको सहमति र योजनामा आगामी सरकार बन्ने छ । यो योजनाबाट गगन र विश्वप्रकाश ‘रिङ आउट’ भैसकेका छन् ।

टड्कारो रुपमा हेर्दा गगनमाथि पार्टी भित्रैबाट घेराबन्दी छ । युवा नेताहरु नै गगनको पक्षमा देखिँदैनन् । भन्नेबेला युवा चाहिन्छ भन्ने तर भित्रभित्रै गगन हुँदैन भनेर नेताहरुको घर–घरमा डेलिगेसन जानेक्रम सुरु भैसकेको छ ।

गगनलाई प्रधानमन्त्री हुनबाट रोक्न विभिन्न आरोप पनि लगाइएको छ । चुनावमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसंग मिलेर गठबन्धनका उम्मेदवारलाई हराएको गम्भीर आरोप उनीमाथि छ ।

नेकपा माओवादी केन्द्रका नेता दीपशिखाले खुलेर गगनमाथि आरोप लगाएका छन् भने कांग्रेस भित्रैबाट उमेश श्रेष्ठ, भिमसेनदास प्रधान, दिपेन्द्र श्रेष्ठले पनि गगनको भूमिका शंकास्पद देखिएको गुनासो गरेका छन् ।

यहीबेला गगनमाथि एमसीसीको मतियार बनेको विषय पनि उचालिएको छ । गगन, काठमाडौंका मेयर बालेन्द्र र रविको नाभी एउटै हो भनेर गगनलाई पार्टी नियन्त्रण भन्दा बाहिर रहेको देखाउन खोजिएको छ ।

संसदीय दलको निर्वाचन नहुँदासम्म गगनका विषयमा थुप्रै फण्डा अझै बाहिर आउनेछन् । यो सबै उनलाई प्रधानमन्त्री बन्नबाट रोक्न नै हो । गगन यी सबै अवरोधलाई चिरेर कसरी अघि बढ्छन् त्यो कौशलता हेर्न भने बाँकी छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७