कामचलाउ सरकारको अध्यादेश : ‘बैरागी भएको मन डुली अघाउँदैन’

बैरागीको बाँझो मन डुली अघाउँदै
कर्णाली घुमाउटो पड्यो लौडी बगाउँदैन

यी चर्चित डेउडाका पङ्ती मनमा विरही भाव आउँदा गाउन मन लाग्छ । आज देशका मुठ्ठीभरका केही मानिसबाहेक प्रायः सबैको विरही भावना छ । सबै निराश छन् ।

मानिसहरु निराश भएको आफनै चिन्ताले हो । घर खर्च, छोराछोरीको खर्च, पढाइलेखाइ, औषधि उपचार जस्ता आधारभुत कुरासमेत जोडन नसकिएपछि मानिस निराश हुने हो । जे गर्दापनि आफना आवश्यकता पूरा गर्न नसकिएपछि मानिसमा हीन भावना पलाउँछ । अहिले देशका अधिकांश मानिसको अवस्था यही हो ।

देशका बहुसंख्यक मानिस निराश हुनुको कारण देशको अवस्था नै ठीक नभएर हो । अहिले किसानहरु आन्दोलितछन । धानको समर्थन मूल्य पाउन सकेका छैनन । समयमा मल पाईदैन । खेतमा उत्पादन गरेको सामग्री सस्तोमा बेच्नुपर्छ तर दलालले मनग्य आम्दानी गर्छ । उत्पादनमा भन्दा लगानी बढी छ । के भनेर किसानको मनोबल बढोस् ।

हरेक अभिभावक विद्यालयबाट आएको छोराछोरीको शुल्कको बिल देखेर तर्सिने अवस्था छ ।

छोराछोरीको पढाइ गतिलो छैन । मोबाइल र कम्प्युटरमा मात्र व्यस्त हुने छोराछोरीलाई धान कहाँबाट आउँछ भनेर सोध्यो भने पसलबाट भन्ने जवाफ आउँछ । उनीहरुलाई व्यवहारिक शिक्षा छैन । घोकन्ते र अव्यवहारिक शिक्षा प्रणालीले बेरोजगार मात्र उत्पादन गरिरहेको छ । विद्यालय सञ्चालकहरु नयाँ अंग्रेजी पुस्तक पढाइरहेका छौ भनेर अभिभावकलाई भ्रम छर्नमै व्यस्त छन् ।

महंगी यति धेरै छ कि बजारमा एक मुठा सागको मूल्य ६० रुपैयाँ भन्दा बढी छ । त्यो एक मुठा पकाउँदा एक जनालाई पनि पुग्दैन । ४ जनाको परिवारलाई चार मुठा चाहिन्छ, त्यो पनि एक छाक । दाल, चामल, तेल, माछामासु, अण्डाको त कुरै नगरौँ ।

भर्खरै चुनाव सम्पन्न भएको छ । नयाँ जनप्रतिनिधि आएका छन् । देशलाई उँभो लगाउलान्, जनताका आधारभुत समस्या समाधान गर्लान्, जनजीविका सहज होला भनेको त ठीक उल्टो हुँदैछ । सबैलाई मन्त्री कसरी हुने भन्ने मात्र चिन्ता छ । केन्द्रदेखि प्रदेशसम्म मन्त्री बन्ने र बनाउने कुरामा मात्र छलफल भैरहेका छन् ।

अझ सबैभन्दा निराशाजनक त अध्यादेश ल्याएर जेलमा रहेकाहरुलाई रिहा गर्ने सुन्दा हुँदो रैछ । अध्यादेश ल्याएर, फौजदारी संहिता संशोधन गरेर रेशम चौधरी, सिके राउत र विप्लवका कार्यकर्ता छुटाउने रे । के का लागि भन्दा सरकार बनाउन सिट अपुग भएछ ।

जनताका छोराछोरी निर्दोष हुँदाहुँदै पनि फसाएर जेलमा कोचिएको छ । उनीहरु कहिल्यै न्याय पाउँदैनन् । अदालतमा तारेख सार्दासार्दै उनीहरुको जीवन जान्छ । तर, सत्ताका लागि मुद्दा फिर्ता गर्ने सौदाबाजीले मुलुक कहाँ जाँदैछ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

राजनीतिक दल र तीनका नेताहरु विदेशीको इशारामा चल्ने सत्य अब लुकाएर लुक्दैन । यही चुनावमा पनि दूतावासबाट करोडौं रकम लिएको छताछुल्ल भैसकेको छ । विदेशीको पैसा खानेले विदेशीकै हितमा काम गर्छ, देश र जनताको पक्षमा चाहेर पनि गर्न सक्दैन ।

देश भनेको भूगोल मात्र होइन । देश भनेको जनता हुन् । जनता मर्ने नेता बाँच्ने स्थितिले देश बाँच्न सक्दैन । अहिले मुलुक असफल राष्ट्र हुने स्थितिमा छ । आर्थिक स्थिति डामाडोल छ । यही अवस्था रहे युक्रेनबाट युक्रेनका जनता भाग्नुपर्ने स्थिति आए जस्तै हामी नेपाली नै नेपालबाट भाग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

यस्तै विरहले गाँजेको बेला आउनुस् एकै स्वरमा गाऔँ :

बैरागीको बाँझो मन डुली अघाउँदै
कर्णाली घुमाउटो पड्यो लौडी बगाउँदैन ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७