राष्ट्र निर्माता पृथ्वीनारायण र विध्वंसकारी अहिलेका शासक

काठमाडाैं । पौष २७ गते पृथ्वी जयन्तीको दिन बिदा दिनु खुशीको कुरा हो । लामो संघर्ष र दबाबपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बिदा दिन सहमत भएको हो ।

यो दिन राष्ट्रव्यापी रुपमा राष्ट्रिय एकता दिवस भनि नेपाल सरकारले विभिन्न उत्सव र समारोह गरी मनाउनुपर्छ । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल गोरखा पुगेका छन् । गोरखा महोत्सव उद्घाटन गर्न भने पनि उनले आजकै दिन गोरखा टेक्नुलाई अर्थपूर्णरुपमा लिइएको छ ।

त्यसो त प्रधानमन्त्री दाहालले चुनावको बेला गोरखामा पृथ्वीनारायण शाहको शालिक स्थापना गर्ने घोषणा गरेका थिए । विगतमा देशभर पृथ्वीनारायण शाहको शालिक तोडफोड गरिएकोमा अहिले प्रचण्डसहित माओवादीका नेता कार्यकर्ताले पश्चाताप गरिरहेका छन् । उनीहरुले त्यसलाई गम्भीर गल्तीकोरुपमा आत्मसाथ गरिसकेका छन् ।

०६२/०६३ पछि सरकारले पृथ्वी जयन्ती नमनाए पनि जनस्तरबाट भने धुमधामकासाथ पृथ्वी जयन्ती मनाउन कहिल्यै छुटेन । ढिलै भए पनि सरकारले पृथ्वी जयन्तीलाई मान्यता दिएर गल्ती सच्याएको छ ।

विक्रम सम्वत १७ सय ७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विक्रम संवत् १७ सय ९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा बनेका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विक्रम सम्वत १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८ सय २६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरण गरेका शाह राष्ट्र निर्माता हुन् ।

शाहको एकीकरण र युद्ध शैली तथा उनका दिव्योपदेशलाई मात्रै ख्याल गर्ने हो भनेपनि मुलुक विकसित र समृद्ध बनाउन सकिन्छ । राष्ट्र निर्माणको लागि पृथ्वीनारायण शाह वाट विभिन्न निर्देशन भएका छन् । मुख्यतः यी निर्देशनलाई पाँच भागमा हेर्न सकिन्छ ।

(क) देशको शासन कसरी चलाउने ?
(ख) देशको आर्थिक उन्नति कसरी गर्ने ?
(ग) नेपालीहरुबीचको एकता कसरी बढाउने ?
(घ) ठूला छिमेकीहरुबीच नेपाललाई कसरी वचाउने ?
(ङ) नेपालको सांस्कृतिक एकता कसरी प्रोत्साहन गर्ने ?

यी पाँचै प्रश्नहरुमा शाहको मार्ग निर्देशन आजको लागि पनि मनन योग्य छन् ।

अहिलेको राजनीतिक परिस्थितिमा हाम्रा शासक पनि यी पाँचै प्रश्नमा अड्केका छन् । उनीहरुले आफनो राजनीतिक तथा कुटनीतिक कौशलता प्रदर्शन गर्न नसक्दा हामी आन्तरिक र बाह्यरुपमा पनि निकै कमजोर भएका छौं ।

शाहले दिएको पहिलो मार्ग निर्देशनमै देशको शासन कसरी चलाउने भन्ने छ । हाम्रा शासकहरु अझै पनि अल्मलिएकाछन । उनीहरुले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था मुलुकलाई थेग्न मुश्किल भएको छ । अझ संघीयता घाँडो नै भैसकेको छ ।

मुलुकको आर्थिक उन्नतीतर्फ कुनै ध्यान र चासो छैन । भएका उद्योग, कलकारखाना कि बन्द गरिएकाछन् कि बेचिएकाछन् । मुलुकको आफ्नो आम्दानी केही पनि छैन । रेमिट्यान्स र जनताबाट कर असल्नुबाहेक अन्य कुनै श्रोत नै छैन ।

नेपालीहरुबीच एकता कायम गर्ने कुरा त शासकहरुको ध्यानमै छैन । उल्टो जाजाती, धर्म, सम्प्रदायका कुरा उछालेर नेपालीहरुबीच रीस, राग र वैमनश्यता फैलाउने काम भएको छ । जनतालाई लडाएर त्यसमै राजनीति गर्ने उनीहरुको ध्याउन्न छ ।

छिमेकीसँग सन्तुलित सम्बन्ध राख्ने त कुरै छाडौ, नेताहरु छिमेकी र शक्तिशाली राष्ट्रका दास जस्ता भएकाछन् । उनीहरुको स्वार्थ पूरा गर्ने, उनीहरुकै एजेण्डा लागु गर्नेतर्फ उनीहरुको ध्यान छ । एमसीसी, एसपीपी, नागरिकता विधेयक, मुद्दा फिर्ता अध्यादेश पछिल्ला उदाहरण हुन् । यी विषय नेपालीका लागि नभइ विदेशीलाई खुशी पार्न ल्याइएका हुन् ।

नेपालको सांस्कृतिक पहिचान जोगाउने नभइ नष्ट गर्नेतर्फ दल र नेताहरुले काम गरेका छन् । हाम्रा चाडपर्व, मौलिक परम्परामाथि एकपछि अर्को प्रहार भैरहेको छ । पृथ्वी जयन्ती नमनाउने तर क्रिसमसको दिन शनिवार परेपनि सार्वजनिक बिदा दिने हाम्रो चलन छ । यसबाटै थाहा हुन्छ, हामी हाम्रो पहिचान, मौलिकता र संस्कृतिप्रति कति जिम्मेवार छौं ।

अहिले प्रचण्ड नेतृत्वको सरकारले सुशासनको नारा दिएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले ‘घुस दिन्या र घुस लिन्या देशका शत्रु हुन’ भनेर दिव्योपदेश नै दिएका छन् । आज नेताहरु सुशासनका लागि जे गफ दिइरहेकाछन् त्यो सबै पृथ्वीनारायण शाहकै प्रेरणा हो । तर, हाम्रा शासक यसको जस उनलाई दिन हिच्किचाउँछन् ।

भन्नेबेला हामी सुशासन र भ्रष्टाचार अन्त्यको कुरा गछौ तर के प्रधानमन्त्री दाहाल आफूमाथि लडाकु शिविरको रकमबारे उठेको प्रश्नको जवाफ दिन्छन् ? उनको अकुत सम्पत्ति कहाँबाट आयो ?
आज उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको पासपोर्ट र नागरिकतामाथि छानबिन भैरहेको छ । अदालतमा मुद्दा बिचाराधिन छ । उनी स्वार्थ बाझिने गरी गृहमन्त्री रहिरहन मिल्छ ? अहिले सबैभन्दा बढी सुशासन र भ्रष्टाचार अन्त्य गर्ने भनेर उनकै चर्को स्वर छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत हासिल गरेकै दिन संसदमा रेशम चौधरीको नामै लिएर उनी निर्दोष रहेको बताए । रेशमलाई आजिवन कारावाशको सजाय अदालतले सुनाएको हो । अदालतले लामो बयान र अनुसन्धानपछि तथ्यका आधारमा फैसला गरेको हो । आज राजनीतिक फाइदाका लागि रेशम निर्दोष भन्ने प्रचण्ड को हुन ? अझ कानुन बनाएर रिहा गर्ने घोषणा पनि उनले गरेकाछन् । मुलुकमा यसरी कानुनी र विधिको शासन स्थापित हुन्छ ? कि जसको शक्ति उसको भक्ति हो ?

देशका हर ठाउँमा सेटिङ छ । अख्तियारमा सेटिङ, निर्वाचन आयोगमा सेटिङ, अदालतमा सेटिङ, संवैधानिक निकायमा सेटिङ, पुलिस आर्मीमा सेटिङ, अनि भन्नेबेला सुशासन । जनता ठग्ने र जनतालाई झुक्याएर अकुत सम्पत्ति कुम्ल्याउनुबाहेक कसैको पनि केही उद्देश्य देखिँदैन ।

अहिलेको राजनीतिक संरचना हेरौँ न । प्रतिपक्षविहीन संसद बनेको छ । दलका गठबन्धनहरु पूरै अप्राकृतिक र अपवित्र छन् । ती सबै के का लागि भन्दा कुर्सीका लागि । सबैलाई सत्ताको स्वार्थ छ । कसैलाई अपराधी छुटाउनु छ कसैलाई विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउनु छ । कसैलाई अमेरिकी परियोजना लागु गराउनु छ कसैलाई चिनियाँ स्वार्थको समीकरण बनाउनु छ । आखिर नेपाल र नेपालीको हितमा कसको ध्यान छ ?

अहिले मुलुकमा देशभक्त नागरिक मर्नु र बाँच्नुको दोसाँधमा छन् । उनीहरुलाई साँझ बिहानको हातमुख जोर्न पनि मुश्किल छ । हरेक ठाउँमा उनीहरुमाथि विभेद छ । उनीहरुलाई गरिखाने पनि वातावरण छैन । एउटा युवा काम नपाएर विदेश पलायन हुनु परेको छ । गरीव नागरिकले छोराछोरी पढाउन सकेका छैनन । उपचार गराउन नसक्दा हजारौं मानिस सडकमै मर्नु परेको छ । हाम्रा शासकहरु भने बर्षौदेखि विकास र समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यको गफ दिएर थाकेका छैनन् ।

मुलुक डिलमा पुगिसकेको छ । आर्थिक अवस्था जर्जर छ । यो बेला पृथ्वीनारायण शाहलाई राष्ट्रले सम्झनु राम्रो कुरा हो । पृथ्वीनारायणलाई सम्झनु भनेको उनको अनुशरण पनि गर्नु हो । कम्तिमा पृथ्वीनारायण शाहले दिएका दिव्यपदेशको पालना मात्रै पनि हाम्रा शासकले गर्न सके हाम्रो देश जोगिन्छ, हामी पनि नेपाली भएर बाँचिरहन पाउँछौँ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७