सभापति देउवा आफैँले विशेष महाधिवेशनको प्रस्ताव गर्नुपर्छ (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसका नेता मधु आचार्यले कांग्रेसको आन्तरिक एकता, सबलीकरण र वैचारिक प्रवर्द्धनका लागि विशेष महाधिवेशन उपयु्क्त हुने धारणा राखेका छन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै नेता आचार्यले सभापति देउवा आफैँले स्वेच्छाले विशेष महाधिवेशनको प्रस्ताव गरी अघि बढे स्वयं देउवा र पार्टीका लागि उत्तम हुने बताए । उनका अनुसार देउवाको उमेर, क्रियाशिलता र स्वास्थ्यको समेत ख्याल गर्दै कांग्रेसको वृहत्तर हितका लागि विशेष महाधिवेशनमा जानु उपयु्क्त हुनेछ ।

आचार्य भन्छन्, ‘हामी देउवालाई गलहत्याउन चाहन्नौँ । प्रजातान्त्रिक विधिबाटै अघि बढ्न चाहन्छौं । विधानको व्यवस्था भन्दा पनि देउवा आफैले प्रस्ताव गरेर अघि बढे यसले पार्टीमा नयाँ उर्जा उत्पन्न हुनेछ ।’

पार्टीको १४औं महाधिवेशनमा ओलीको पुनरोदय हुन नदिने र आफना कार्यकर्ताको शीर उँचो राख्ने भनेर मत मागेका देउवाले दुवै कुरा पूरा गर्न नसकेको आचार्यको भनाइ छ । उनी भन्छन्, ‘अहिले ओलीकै हालीमुहाली छ, कांग्रेस कार्यकता निराश छन् । ’

चुनावअघि पनि नेकपा माओवादी केन्द्रसंगको गठबन्धन जनताले नरुचाएको र अहिले पनि प्रचण्डको सरकारलाई विश्वासको मत दिएको कुरा कार्यकर्ताले नरुचाएको आचार्य बताउँछन् । कांग्रेसले ओली वा प्रचण्डको पछि नलागी एकल बहुमत हासिल गर्ने गरी जनताको माझ जानुपर्छ । आफनो सिद्धान्त र निष्ठा समाप्त गरेर दुई चार पदका पछि लाग्नु कांग्रेसको धर्म पनि होइन, कर्तव्य पनि होइन ।

संवैधानिक र कानुनी हिसाबमा कांग्रेस प्रतिपक्षी दल नभएपनि सदनदेखि सडकसम्म प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने आचार्य बताउँछन् । राष्ट्रपति र सभामुखको निर्वाचनमा उम्मेदवार प्रस्तुत गर्ने र जित्नका लागि अधिकतम् प्रयास गर्ने उनको भनाइ छ ।

विस्तृत भिडिओमा :

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७