राष्ट्रिय नेतृत्वको अभाव भएको छ, सबै दल एक ठाउँमा हुनुपर्छ : रामचन्द्र पौडेल

काठमाडौं: नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा राष्ट्रिय नेतृत्वको अभाव भएको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्दै नेता पौडेलले आफूलाई देशमा राष्ट्रिय नेतृत्वको अभाव खड्किन थालेको बताए। उनले भने, ‘मलाई भनौँ कि नभनौँ हुन थाल्यो। नेपालमा राष्ट्रिय नेतृत्वको अभाव हुन थालेको भान हुँदैछ। राष्ट्रिय आत्मविश्वासको अभाव छ। आफैँ प्रति आफैँलाई विश्साव छैन। नेतृत्वले विश्वास गुमाएको अवस्था छ। यसबाट बच्च र विश्वास कायम गर्न सहमति र सहकार्यको आवश्यकता छ।’

नेता पौडेलले देशमा निष्ठाको राजनीति हराएको भन्दै चिन्ता व्यक्त गरे। उनले अहिले जताततै स्वार्थको राजनीति हावी भएको उनको तर्क छ।

नेता पौडेलले राजनीतिक दलको आडकै कारण देशमा अपराधका घटना बढेको बताए। उनले देशमा बढ्दो अपराध नियन्त्रण गर्न राजनीतिक दल नै एक हुनुपर्ने बताए। उनले भने, ‘ अहिले हामीकहाँ अपराधलाई प्रोत्साहन भएको छ। दलहरूकै कारण अपराधीले प्रोत्साहन पाएका छन्। एकबाट बच्न अर्को दलतिर जाने र सुरक्षित हुने परिपार्टीको विकास भएको छ। अब यसलाई रोक्नुपर्छ। यसका लागि राजनीतिक दल एकताबद्ध हुनुपर्छ। देशलाई समग्र रुपले ठीक पार्न राष्ट्रिय एकताको आवश्यकता छ।’

पौडेलले शान्ति प्रक्रियाका बाँकी काम पनि चाँडै टुंग्याउनुपर्ने बताए। उनले भने, ‘नेपाल शान्ति प्रक्रियामा प्रवेश गरेको लामो समय भएपनि अझै शान्ति प्रक्रिया पूरा भएको छैन। १२ वर्षे द्वन्द्वले देशलाई ठूलो घाउ लगाएको छ। यो घाउले अझै नेपालीलाई दु:ख दिइरहेको छ। यसलाई निको पार्नु हाम्रो कर्तव्य हो। द्वन्द्वको घाउलाई मल्हम लगाउनुपर्छ। त्यसमा पनि हामी सबै एक जुट भएर अघि बढ्नुपर्ने देखिन्छ।’

बढ्दो भ्रष्टाचार रोक्न सबैले भूमिका खेल्नुपर्ने नेता पौडेलको भनाइ छ। उनले देशको शासन व्यवस्था विकेन्द्रीकरण गर‍्दा भ्रष्टाचार पनि विकेन्द्रीकरण भएको बताए। नेता पौडेलले भने, ‘देशमा अहिले कुशासन भोग्दाको अनुभूति नराम्रो छ। हामीले शासनको विकेन्द्रीकरण गर्‍यौँ। भ्रष्टाचारको पनि विकेन्द्रीकरण भएको छ। अब यसलाई रोक्नुपर्छ।’

नेता पौडेलले देशमा बढ्दो आर्थिक भार कटाउन प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। देशको आम्दानीभन्दा खर्च धेरै भएकाले राज्यलाई धान्न कठिन हुने उनको भनाइ छ। नेता पौडेलले भने, ‘हिजो एक दिनको मात्र देशको राजश्व आम्दानी र खर्च हिसाब गर्दा हामी घाटामा गएका छौँ। हिजोमात्र होइन वर्षभरको अवस्था यही छ। नेपालमा राजश्व उठ्नेभन्दा खर्च बढी छ। यस्तो अवस्थामा कसरी देशको विकास हुन्छ? विगतमा आउने अनुदान पनि अहिले हटेको छ। अनुदान कम हुँदै गएको छ। पहिले अनुदान पनि थियो। अहिले दातृ निकायले ऋणमात्र दिँदै आएका छन्। यसले देशलाई आर्थिक भार बढ्छ। यो अवस्थामा हामीले कसरी खर्च कटौती गर्ने यसको काम गर्न जरूरी भइसकेको छ। देशमा बढ्दो व्ययभार घटाउन हामीले सजक हुनुपर्ने अवस्था छ।’

सामाजिक सुरक्षाका क्षेत्रमा बढिरहेक खर्च र व्यवस्थापन मिलाउनुपर्ने, रेमिट्यान्सको भरमा मुलुक चलेपनि अहिले भएको अनुत्पादक क्षेत्रको लगानीलाई उत्पादनसँग जोड्नुपर्ने नीति अब राज्यले लिनपर्ने पौडेलको भनाइ छ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७