• २०८३ असार १०
  • 2026 June 24, Wednesday

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट, राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकमत नहुँदा सत्ता साझेदारी नै संकटमा परेको छ ।

एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने माग राखे पनि प्रचण्ड माओवादी केन्द्र सहमत देखिएको छैन । माओवादी नेताहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस समेत छ ।

लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति जुटाउन आग्रह गर्दै लोसपाका नेताहरुले आज कांग्रेस सभापति देउवासँग छलफलसमेत गरेका छन् ।

राष्ट्रपतिमा कांग्रेसले पनि दाबी गरेको छ । निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।