• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

अदालतले दिएन सन्दीपलाई विदेश जाने अनुमति

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछाने तत्काल विदेश जान नपाउने भएका छन् । सर्वोच्च अदालतले उनलाई विदेश जान अनुमति दिने नदिने आइतबार मात्रै निर्णय गर्ने भएको छ ।

सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित बिहीबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारले दायर गरेको रिट पनि सँगै पेश गरेर आइतबारका लागि पेशी तोक्न भनेको हो ।

सर्वोच्चको यो आदेशसँगै सन्दीप टोलीसँगै युएई जान नपाउने भएका छन् । नेपाली क्रिकेट टोली शनिबार युएई प्रस्थान गर्दैछ ।

जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो । त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन गरेका थिए । तर उनको अपिल अनुसार आदेश हुने नहुने भन्ने टुंगो लाग्न समय लाग्ने भएको हो ।

उच्च अदालतले पुस २८ गते सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि त्यसविरुद्ध पीडितको तर्फबाट उच्च सरकारी वकिल कार्यालयले सर्वोच्चमा निवेदन गरेको छ । सन्दीपलाई थुनामै राखेर पुर्पक्ष गर्नु पर्ने पीडित पक्षको माग छ ।

आइतबार उनको पक्षमा आदेश आएमा बाँकी खेलका लागि उनलाई युएई लाने क्यानको तयारी छ ।