पुटिनलाई पक्राउ आदेश र प्रचण्डलाई मुद्दा

काठमाडाैं । अन्तर्राष्ट्रिय अपराध अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधको अभियोग लगाउँदै पक्राउ आदेश दिएलगत्तै पुटिन निस्फीक्रि घुमफिरमा निस्केका छन् । उनी क्रिमिया र मारिउपोलमा घुमिरहेका छन् ।

नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले हत्या अभियोगमा कारण देखाउ आदेश जारी गरेको छ । प्रचण्ड निस्फीक्रि राजनीतिक गतिविधि र सरकारी काम गरिरहेका छन् ।

पुटिनलाई पक्राउ आदेशको कुनै त्रास छैन । अमेरिका लगायतका मुलुकको उक्साहटमा प्रचारका लागि आफुमाथि पक्राउ आदेश जारी गरिएको पुटिनको बुझाइ छ । रुसी विदेश मन्त्रालयले समेत अर्थहीन आदेश भनी जवाफ फर्काइसकेको छ ।

हुन पनि अपराध अदालत गठन गर्दा हस्ताक्षर गर्ने मुलुकका लागि मात्र सो आदेश पालना गर्नुपर्ने बाध्यता छ । रुस अदालत गठनको सदस्य नभएकाले सुपर्दगी गर्नुपर्ने बाध्यता छैन ।

यता, प्रचण्ड आफै प्रधानमन्त्री छन् । उनले अदालतबाट आफूलाई कारण देखाउ आदेश जारी भएपछि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन सम्बन्धी विधेयक संसदमा पेस गरेका छन् ।

विस्तृत शान्ति सम्झौताको ६ महिना भित्र शान्ति प्रक्रिया टुंग्याउने सहमति गरेका दलहरुले १६ वर्ष वितिसक्दा पनि यस सम्बन्धी कामहरु गरेका छैनन् । बरु उनीहरुले आयोगलाई कार्यकर्ता भर्ती केन्द्र बनाए । पदाधिकारी नियुक्त नगरेर बर्षौसम्म आयोग रित्तै राखे । पदाधिकारी राखेपनि खल्तीका मान्छे राखेर काम गर्न दिएनन् ।

यो निश्चित छ कि अन्तर्राष्ट्रिय अपराध अदालतको पुटिन पक्राउ आदेश कार्यान्वय हुने छैन । यो कार्यान्वयन गर्न सकिने तागत अदालतसंग छैन । यो प्रचारवाजी मात्र हो । यसले अदालत आफै पंगू हुनेबाहेक अर्को उपाय देखिँदैन ।

नेपालमा प्रचण्डलाई पनि हत्या अभियोगमा पक्राउ आदेश गरी जेल हाल्छन भन्ने कसैले पत्याएका छैनन् । सकभर प्रचण्डलाई सफाइ दिने नभए सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै विवाद टुंग्याउनु भनी आदेश हुनसक्ने अनुमान गरिएको छ ।

यही मौकामा सम्पूर्ण माओवादी घटकहरु एक भएर पुनः युद्धको ध्वाँस दिइरहेका छन् । उनीहरुले शान्ति प्रक्रिया बिथोलिने धम्की दिइरहेकाछन् । यसमा सबैभन्दा बढी चासो डा. बाबुराम भट्टराई र नेत्रबिक्रम चन्द विप्लवलाई रहेको देखिन्छ ।

युक्रेनको नाममा अमेरिका र नाटोले रुससंग युद्ध गरिरहेको छ । दुवैतर्फ गरी हजारौँ सैनिक र सर्वसाधारण मारिएका छन् । युद्ध अन्त्य हुने वा मेलमिलापको कुनै गुञ्जास देखिँदैन ।

अझ चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा जाने भएपछि रुसको हौसला झन बढेको छ । चीनले रुसलाई हतियार आपूर्ती गरिरहेको अमेरिकाको दाबी छ । यो बेला पुटिन कमजोर हुने, पक्राउ पर्ने होइन झन बलिया हुँदैछन् ।

प्रचण्डलाई मुद्दा परेर पक्राउको चर्चा चलाइएका बेला नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको छ । प्रचण्डले कांग्रेसको समर्थन पाउनु भनेको राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा बलियो हुनु मात्र होइन सुरक्षितसमेत हुनु हो । पुटिन जस्तै प्रचण्ड शक्तिशाली भएका छन् ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७