चन्द्र भण्डारीलाई मुम्बई लैजाँदा लागेको ५६ लाख रुपैयाँ सरकारले व्यहोर्ने

काठमाडाैं । खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्‍द्र भण्डारीलाई उपचारका लागि भारत लैजाँदाको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ ।

अर्थ मन्त्रालयका अनुसार सांसद भण्डारीलाई एयर एम्बुलेन्समार्फत भारत लैजाँदा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ ।

मन्त्रिपरिषदको गत फागुन ११ गतेको बैठकले सांसद भण्डारीलाई भारत लैजाँदा लागेको खर्चवापत ५५ लाख ८८ हजार एक सय ६४ रूपैयाँ सरकारले व्यहोर्ने निर्णय भएको हो ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भइ आगलागी हुँदा सांसद भण्डारी गम्भीर घाइते भएका थिए । उनको सुरूमा कीर्तिपुरस्थित अस्पतालमा उपचार भएको थियो । फागुन ४ गते उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो ।

सांसद भण्डारीको स्वास्थ्य क्रमिक रूपमा सुधार हुँदै गएको छ । उनलाई सामान्य आहार दिन थालिएको छ । आगलागीमा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७