भारतबाट नौ महिला र एक बच्चाको उद्धार

काठमाडाैं । आकर्षक काममा लगाइदिने बहानामा भारतमा लगेर बेचबिखनमा परी देहव्यापारमा लगाइएका नौ महिला र एक बच्चालाई उद्धार गरिएको छ ।

भारतको नयाँ दिल्लीमा उनीहरूलाई फ्ल्याटमा राखेर यौन व्यावसायमा लगाइएको गुनासो आएपछि उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंले जनाएकाे हाे ।

ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार उनीहरूलाई संरक्षित संस्थामा राखेर मनोविमर्श सेवा दिइरहेको र घटनाका विषयमा आवश्यक अनुसन्धान जारी रहेको छ ।

उनीहरूसँग सोधपुछसमेत जारी रहेकाले उनीहरूको बयानका आधारमा बेचबिखन गर्ने व्यक्तिको खोजी गरिने उनले जानकारी दिए ।

उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा भारतस्थित नेपाली दूतावास, यस क्षेत्रमा काम गर्ने संस्थासँगको समन्वयमा उद्धार गरेर ल्याइएको पनि पङ्गेनीले बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१