• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसके, आक्रोशित र दिकदार छन् : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेतृत्वप्रति नागरिकहरू आक्रोशित र दिकदार रहेको बताएका छन् ।

आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना हुँदा मानिसमा आक्रोश देखिएको थापाले बताए ।

बिहीबार काठमाडौंमा भएको नेपाली कांग्रेस रूपान्तरणका एजेन्डा : के र कसरी कार्यक्रममा महामन्त्री थापाले भने, ‘मानिसको मनमा सिर्जना भएको चञ्चलताको बेलैमा समाधान हुन सकेन भने देशले झनै समस्या भोग्नुपर्ने हुन्छ ।’

सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले त्यो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार र राजनीतिक दल गम्भीर हुनुपर्ने थापाले बताए ।

‘नागरिकमा अहिले अस्थिरता आउनु भनेको आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना हुनु हो,’ उनले भने, ‘नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसके ।’

उनले अब नेपाली कांग्रेसले नागरिकलाई आशाको सञ्चार गर्नुपर्ने जरुरी रहेकाे पनि बताए ।