रास्वपा महामन्त्री मुकुल ढकालका चालक प्रहरी नियन्त्रणमा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक छतबाट खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार छतबाट खसेका लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापासँगै सुतेका ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

‘अहिले घटनाको अनुसन्धान भइरहेको छ, आत्महत्या प्रयास हो वा अरु कुनै कारणले यस्तो भएको हो, त्यो बारेमा खुल्ला’, एसपी कार्कीले भने, ‘घटनास्थलको मुचुल्का उठाएर ल्याएका छौँ सोधपुछ जारी छ ।’

भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट लामिछानेका चालक थापा खसेको सिसिटिभी फुटेजमा देखिन्छ । थापा कसरी छतबाट खसे भन्ने बारेमा थप अनुसन्धान गरेर मात्रै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

विहान करीव ४ बजेतिर थापा छतबाट खसेलगत्तै दुई जनाले उठाएको सिसिटिभी फुटेजमा देखिन्छ । सोमबार बिहान भरतपुरका विभिन्न स्थानमा चुनाव प्रचार कार्यक्रममा सहभागी रवि लामिछानेले भने अहिलेसम्म घटनाका बारेमा केही बताएका छैनन् ।

चालक थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनलाई अस्पताल ल्याएलगत्तै सबै चेकजाँच गरी टाउकोको शल्यक्रिया गरिएको छ ।

शल्यक्रियामा संलग्न कलेजका न्यूरो सर्जन डा. विनोद भट्टराईका अनुसार शल्यक्रियापछि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । उनको अवस्था स्थिर छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१