१५ अंकले घट्यो नेप्से, काराेबार रकममा केही वृद्धि

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से सूचक १५ अंकले घटेको छ ।

तीन दिनपछि बुधबार १५.१३ अंकले बढ्दै १९ सय २०.१२ अंकको बिन्दुमा उक्लिएको नेप्से सूचक बिहीबार पुनः १५.७३ अंकले घटेर १९ सय ४.४० अंकको बिन्दुमा ओर्लिएको हो ।

बिहीबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.७९ अंकले घट्दै ३६३.१२ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यद्यपि, आज कारोबार रकम भने केही बढेको छ ।

बुधबार दिन १५ अंकले बढेको बजारमा ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदै गर्दा आज १५ अंकले नै घटेको बजारमा ९८ करोड ३३ लाख ६७ हजार रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता सेयर किनबेच भएको छ ।

बिहीबार १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । कालिन्चोक दर्शन लिमिटेडका सेयरधनीहरुले ९.९९ प्रतिशतले कमाएका छन् ।

यस्तै, आज आदर्श लघुवित्त वित्तीय संस्था र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डका लगानीकर्ताहरुले समान १० प्रतिशतले गुमाएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१