मुलुक संघीयतामा गइसकेपछि पनि सिंहदरबारको सोचबाट मुक्त हुन सकेन : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक संघीयतामा गइसकेपछि पनि सिंहदरबारको सोचबाट मुक्त हुन नसकेको बताएका छन् ।

शनिबार काठमाडौंको गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आम जनतालाई आर्थिक र राजनीतिक क्रियकलापमा कसरी संलग्न गराउन सकिन्छ भनेर तीन तहको सरकार बनाइएको भएपनि अहिले पनि सिंहदरबारको सोचबाट मुक्त हुन नसकेको बताएका हुन् ।

अहिले पनि संघीयता र परिवर्तनको आत्मसातीकरण गर्न नसकेकाले अझै मेहेनत गर्न आवश्यक रहेको उनले बताए । उनले नेपालको संविधान धेरै प्रगतिशील भएको र यसले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणको संकल्प गरेको जिकिर गरे ।

प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको सक्रियता बिना अर्थतन्त्रमा सुधार ल्याउन नसकिने भएकाले राज्यले निजी क्षेत्रलाई निचोर्ने र निजी क्षेत्रले राज्यलाई छल्ने स्थिति बदल्नुपर्ने धारणा राखे ।

त्यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी दातृ निकायहरुसँग आवश्यकताभन्दा बाहिरको ठाँउमा सहयोग लिइरहेको भन्दै प्राथमिकता निर्धारण गरेर सहयोग लिनुपर्ने बताए ।

उनले अर्थतन्त्रमा असहज स्थिति रहेको र सोचेअनुसार राजश्व संकलन नभएको अवस्थामा व्यापक खर्च कटौती गर्नुपर्ने देखिएको धारणा राखे । अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद्र ढकालले मुलुकमा निजी क्षेत्रको लगानी बढाउनका लागि सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताए ।

अर्थतन्त्रलाई सुधारका लागि कर्जा प्रवाह बढाउनुपर्ने, व्याजदरलाई नियन्त्रण गर्नुपर्ने उनले बताए । उनले लगानीकर्ता, उद्यमी एवं व्यवसायीमाथि निरन्तर भइरहेको प्रहारलाई रोक्नुपर्ने धारणा पनि राखे ।

ढकालले दक्ष जनशक्ति न्यून रहेको र त्यही पनि विदेश पलायन हुने गरेकाले सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७