गगनको गर्जन : पार्टी भित्रका भ्रष्टाचारी जो सुकै हुन् निकालेर फाल्नुपर्छ (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी कतै पनि जोडिन नहुने बताएका छन् । प्रजातन्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा उनले यो प्रकरणमा पक्राउ परेका पार्टीका नेताहरुलाई निलम्बन गर्नुपर्ने बताए ।

कुनै पदमा बसेको मान्छे, प्रहरी, अदालत, निजामति कर्मचारी कहिँ पनि अभियोग लागेपछि स्वतः निलम्बन हुने भएकाले पार्टीले नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने थापाको तर्क छ ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता मुछिनु भएको छ। पार्टीमा भएको व्यक्ति भ्रष्टचारी हुनसक्छ, पार्टी हुँदैन । विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियाको पालना सबैले गर्नुपर्छ,’ थापाले भने । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिने सबैलाई कारबाही हुनुपर्ने भन्दै यसमा दायाँबायाँ गर्न नहुनेमा उनको जोड छ ।

पार्टीमा दाग लागे उनीहरुलाई निकालेर बाँकी रहेकालाई अगाडि बढाउनुपर्ने उनले बताए ।

‘प्रमाणित भयो भने कारबाही हुन्छ। कोहीप्रतिको पूर्वाग्रही भएर होइन। मलाई भएपनि अर्कोलाई भएपनि त्यही हो,’ थापाले भने, ‘पार्टीको छलफलमा केही साथीहरूले लिनुभएको पोजिसन के छ भन्ने हाम्रोभित्र त परम्परा छैन। परम्परा छैन भने त्यो तोड्नुपर्छ। गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन।’

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई निलम्बन गर्न सबैले आवाज उठाउनुपर्ने उनले बताए । ‘अनुसन्धनमा कांग्रेस कतै पनि जोडिनुहुँदैन । यसका लागि सबैले आवाज उठानुपर्छ ,’ थापाले भने । उनले भने, ‘यो बेलामा मेरो नजिकको र सम्बन्ध छ भनेर हुँदैन। मेरो हकमा पनि त्यही हो अर्काकोमा पनि त्यही हुनुपर्छ।’ यस्तै उनले चुनावअघि सरकार बनाउनका निम्ति गठबन्धन गर्ने कुरा अलोकतान्त्रिक भएको बताए । ‘हाम्रो यो भुल हो । हामी रोक्न चाहन्थ्यौं । रोक्न सकेनौं ।’ अब कांग्रेसलाई नेताबाट नागरिकतिर फर्काउनुपर्ने उनको भनाइ छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७