पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताएका छन् ।

तर यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको उनले बताए ।

संसदमा बिहीबार भएको प्रश्न उत्तरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले साेधेकाे प्रश्नकाे उत्तरमा प्रधानमन्त्री प्रचण्डले पूर्व लडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड नै रहेको बताए ।

उनले भने, ‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरुले रुजु गरिसकेको यो विषयलाई राजनीतिक आग्रह पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं अश्चर्यमा परेको छु ।’

उनले अगाडि भने, ‘पटक पटक माओवादी लडाकुका क्यान्टोनमेन्टको कुरा उठिरहन्छ । क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा कपोलकल्पित छ’, उनले भने, ‘यदि उजुरी परेर छानबिनबाट दोषी ठहरिए म आफैँ जेल जान तयार छु ।’

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७