
काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा एमाले प्रचार विभाग प्रमुख विष्णु रिमालले धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङलाई बौलाहा नगर प्रमुखको रुपमा चित्रण गरेका छन् ।
शनिबार अखिल नेपाल महिला संघ अनेमसंघको दास्रो पूर्ण बैठकमा उनले धरानका प्रमुख हर्क साम्पाङलाई ‘बौलाहा मेयर’ को रुपमा चित्रण गरे ।
उनले भने,‘काठमाडौंको मेयरले लेख्छ,उसले एकताल खासखुस नचाँहिदो कुरा लेख्दा साथै असी नब्बे हजार लाइक गरेको देखिन्छ । अनि धरान तिरको एउटा बौलाहा टाइपको मेयर छ, काम त राम्रै गरेको होला धरान बाहिर पपुलर छ, धरान भित्र कति छ थाहा छैन् । उसकैमा एक घण्टामा चालिस—पचास हजार लाइक गरेको देख्छु । एउटा स्वतन्त्र पार्टीको सभापतिले राखेको देख्छु, उसको पनि एक घण्टामा तीस चालीस हजार लाइक देख्छु ।’
अनेमसंघका सदस्यलाई सामाजिक सञ्जाल मार्फत सक्रिय भएर पार्टी गतिविधिको प्रचार गर्न निर्देशन दिएका उनले पार्टीका गतिविधि पनि सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गर्न जोड दिए । ‘के बुझ्नुपर्याे भने हामीले कम्म्रेड केपी ओलीको फेसबुक पेजमा हरेक दिन पचास हजार भन्दा बढी लाइक आयो भने, नियमित भयो भने बुझ्नुहोस् पार्टीले बहुमत ल्यायो ।’
बालेन साह, हर्क साम्पाङ तथा रवि लामिछानेले सामाजिक सञ्जालमा सक्रिय भएर राम्रो प्रचार गरेको भन्दै उनीहरुको जस्तै आफ्नो पार्टी अध्यक्षको लेखलाई सेयर,लाइक मार्फत प्रचार गर्न सके पार्टीले बहुमत ल्याउने सम्मको तर्क गरे ।