प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै, उर्जा व्यापारसम्बन्धी रणनीतिमा सम्झौता हुने

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकहल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदबीच आज(बिहीवार) औपचारिक भेटवार्ता हुनेछ । भेटवार्तामा उर्जा व्यापारसम्बन्धी रणनीतिक सम्झौतामा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुनेछ । भेटवार्ता ११ : ०५ मा तय भएको छ । ‘वान टु वान’ हुने वार्ता आधा घण्टाको हुनेछ । त्यसपछि प्रधानमन्त्री दाहालले प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री दाहालको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जामन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री रमेश रिजाल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल सहभागी हुनेछन् ।

सोही वार्ताका क्रममा उर्जा व्यापारसम्बन्धी रणनीतिक सम्झौता पत्रमा हस्ताक्षर हुनेछ । कार्यक्रममा केही परियोजनाको उद्घाटन र संयुक्त पत्रकार सम्मेलन हुनेछ । सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री दाहाल दिवा भोजमा सहभागि हुनेछन् । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गरेका छन् ।

प्रधानमन्त्रीले ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः ३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नु छन् । प्रधानमन्त्री दाहालले साँझ ६ : १५ बजे होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको इन्दोर प्रस्थान गर्ने कार्यसूची रहेको छ । त्यहाँ मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्नुका साथै इन्दोरमा अध्ययन भ्रमणसमेत गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड चौथो दिन अपराह्न ४ : २० बजे दिल्लीबाट काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहाल बुधवार ३ : ०० बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनको स्वागतमा भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखी विमानस्थल पुगेकी थिइन् । उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरिएको थियो । उनको सम्मानमा विमानस्थलबाहिर सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो ।
त्यसलगतै मौर्य होटल पुगेका उनीसँग मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने औपचारिक वार्ताका एजेन्डा र भारतको सुरक्षाचासोबारे जानकारी दिइएको थियो ।

बुधवार साँझ प्रधानमन्त्री दाहाल भारतस्थित नेपाली राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी भएका थिए । समारोहमा भाजपाका पूर्वअध्यक्ष मुरलीमनोहर जोशी, भारतीय विदेश राज्यमन्त्री लेखी, भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले, महाराष्ट्रका पूर्वगभर्नर एवं भाजपा नेता भगतसिंह कोस्यारी सहभागी थिए । भारतीय सेना प्रमुख मनोज पाण्डे, पूर्वप्रधानसेनापतिहरू दलवीरसिंह सुहाग, मनोजमुकुन्द नरभणेलगायत पनि सहभागी थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७