• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बिहेको प्रस्ताव अस्वीकार गरेपछि युवकले गरे प्रेमिका र काकाको हत्या

बुटवल । कपिलवस्तुको बाणगंगामा चक्कु प्रहार गरी दुई जनाको हत्या भएको छ।

प्रेमिकासँग खटपट भएपछि रुपन्देहीको कञ्चन गाउँपालिका-२ का २२ वर्षीय मोहन थारुले वाणगंगा नगरपालिका ६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जनी थारुको हत्या गरेका हुन्।

बिहीवार बिहान मटेरियास्थित अञ्जनीको घरमा पुगेर मोहनले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए। चक्कु प्रहारपछि दुवै जना गम्भीर घाइते भएका थिए।

घटनापछि तत्काल उपचारका लागि अञ्जनीलाई भैरहवा मेडिकल कलेज र बमबहादुरलाई जीतपुरस्थित सामुदायिक अस्पतालमा लगिएको थियो। उनीहरु दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोहन र अञ्जनी विगत केही समयदेखि प्रेम सम्बन्धमा रहेको र बिहेको प्रस्ताव अस्वीकार गरेपछि आक्रोसित भएका मोहनले चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

चक्कु प्रहार गरेपछि घटनास्थलबाट भागेका मोहनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी उपरीक्षक बस्नेतले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।