• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

प्रतिपक्षीको अवरोधले रोकिएको संसद् बैठक अब सोमबार बस्ने

काठमाडाैं । नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुको विरोधका कारण रोकिएको संसद् बैठक अब सोमबार मात्रै बस्ने भएको छ।

संघीय संसद्‍मा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले एक सूचना निकाल्दै अब अर्को बैठक सोमबार बिहान ११ बजे मात्रै बस्ने जानकारी दिएाका हुन् ।

आइतबार बिहान ११ बजे बसेको संसद् बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीसहितले अवरोध गर्दै नाराबाजी गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक असंवैधानिक बाटोबाट प्रमाणीकरण गरेको भन्दै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरु आन्दोलित भएका थिए ।

सभामुख देवराज घिमिरेले संसद् बैठक सुरु गर्नेबित्तिकै प्रतिपक्षी दलका सांसद्हरु ड्यासबाट उठेर अवरुद्ध गर्न उत्रिएका थिए ।

बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले अर्को विधेयक नल्याएसम्म बैठक चल्न नदिने चेतावनी दिएका थिए ।

सरकारको कदमविरुद्ध प्रतिपक्षी दलहरुले मोर्चाबन्दी गरेपछि सभामुख घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका थिए । तर बैठकका लागि दलहरुबीच सहमति जुट्न नसक्दा संसद् भोलिसम्मलाई स्थगित गरिएको हो ।