• २०८३ असार १३
  • 2026 June 27, Saturday

हट्यो एमालेमा ७० वर्षे उमेर हद

काठमाडौं । नेकपा (एमाले) ले कार्यकारी कमिटीमा लगाएको ७० वर्षे उमेर हद हटाएको छ।

एमालेको जेठ १९ गते बसेको सचिवालय बैठकले दसौँ महाधिवेशनको विधान सम्मेलनले पारित गरेको कार्यकारिणी कमिटीमा लाग्ने उमेर हद हटाउने निर्णय गरेको हो।

एमालेको विधानको धारा ६४ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्ने व्यवस्था छ। त्यस्तै ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशन/अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनित पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान राखिएको छ।

त्यसलाई हटाउने र पारित गर्न विधान महाधिवेशनमा प्रस्ताव लैजाने निर्णय भएको एक पदाधिकारीले बताए।

‘एमालेमा अब कुनै पनि तहको कार्यकारिणी कमिटीमा बस्न ७० वर्षे उमेर हद छैन,’ ती सदस्यले भने, ‘सचिवालय बैठकले हटाउने र पारित गर्न विधान महाधिवेशनमा लैजाने निर्णय गरेको छ।’

एमालेमा विधान संशोधनको तीनवटा अवस्था छ ।

पहिलो, केन्द्रीय कमिटीले विधान संशोधनसम्बन्धी लिखित प्रस्ताव विधान महाधिवेशनसमक्ष प्रस्तुत गर्नुपर्नेछ ।

दोस्रो, केन्द्रीय कमिटीले विधान महाधिवेशन सुरू हुनुभन्दा एक महिनाअगाडि नै मातहत कमिटी र सदस्यहरूसमक्ष विधान संशोधनसम्बन्धी प्रस्ताव छलफलका लागि पठाउनुपर्नेछ ।

तेस्रो, विधानमा संशोधन पेश गर्न चाहने प्रदेश वा स्थानीय कमिटी वा सदस्यले लिखित सुझाव तोकिएबमोजिम केन्द्रीय कमिटीसमक्ष प्रस्तुत गर्नुपर्नेछ। यस्तो सुझावका सम्बन्धमा केन्द्रीय कमिटीले आवश्यक निर्णय गर्नेछ।

त्यही भएर यो प्रस्ताव विधान सम्मेलनमा लैजाने तयारी गर्न लागिएको एमालेले बताएको छ।