• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

युएई ‘ए’ माथि नेपालको तीन विकेटकाे जित

काठमाडाैं । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएईको ‘ए’ टिमलाई ३ विकेटले पराजित गरेको छ।

प्रतियोगिताको अन्तिम खेलमा जित निकाल्ने क्रममा नेपालले युएईले दिएको १५८ रनको लक्ष्य ७ विकेटको क्षतिमा २३ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले ४३ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ७१ रन जोडे। अर्का ओपनर अर्जन साउद भने डकआउट भएका थिए।

नेपालका लागि देव खनाल र सन्दीप जोराले २४-२४ रन जोडे। कप्तान रोहित पौडेल ९ रन, गुल्सन झा ११ रन र पवन सर्राफ शून्यमा आउट भए। प्रतिश जिसीले ३ बलमा नटआउट ८ रन जोडे।

बलिङमा युएईका फराजुद्दिनले ५ विकेट लिए।

त्यसअघि श्रीलंकाको कोलम्बोस्थित सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १५७ रनमा अलआउट भयो।

युएईका लागि ओपनर लवप्रित सिंहले अर्धशतक प्रहार गरे। कुशल भुर्तेलको बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले ८२ बलमा ५२ रन जोडे।

बलिङमा नेपालका कुशल भुर्तेलले ६ विकेट लिन सफल भए। उनले १० ओभरमा ४० रन खर्चिए। उनले लिस्ट एको खेलमा पहिलो पटक ६ विकेट लिएका हुन्।