काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘जवान’ को पहिलो गीत सार्वजनिक भएको छ ।
सोमबार रेड चिलीज इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘जिन्दा बन्दा’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडिओमा शाहरूखको नृत्य देख्न सकिन्छ ।
अनिरूद्ध रविचन्दरको स्वर र संगीत रहेको गीतमा शब्द इरशाद कमिलको छ । गीतको सुरूवातमा संवाद राखिएको छ जसलाई शाहरूखले नै तयार पारेका हुन् ।
एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ । फिल्ममा गौरी खानको लगानी छ ।
फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन् । फिल्ममा दीपिका अतिथि भूमिकामा देखिन लागेकी हुन् ।
जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन् । हिन्दी, तमिल, तेलुगु भाषामा फिल्म ७ सेक्टेम्बरदेखि प्रदर्शन हुनेछ ।