काठमाडौं । त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको झन्डै सय किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ छुटेका छन् ।
शुक्रबार काठमाडौंबाट चीन जान लाग्दा पक्राउ परेका दुई जना चिनियाँलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छाडेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए ।
ली जियालिङ र लिउ फुयान शुक्रबार बिहान ९ बजेको हिमालयन एयरको उडानबाट चीन जान लागेका थिए । राजश्व अनुसन्धान विभागले उनीहरूलाई कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमन विभागले उनीहरूलाई पक्राउ गरी सिआइबीलाई बुझाएको थियो।
तर पछि उनीहरूको संलग्नता नदेखिएको भन्दै छाडिएको हो । यसैगरी व्यवसायी रोहन अडुकिया पनि पक्राउ परेका थिए ।
उनलाई पनि राजश्वको अनुरोधमा अध्यागमनले पक्राउ गरेको थियो । तर राजश्व र सिआइबीले बुझ्न नमानेपछि उनलाई पनि शनिबार छाडिएको छ ।
झन्डै १०० किलो सुन प्रकरणमा अहिलेसम्म १७ जना सिआइबीको हिरासतमा छन् । भन्सार एजेन्ट रूक्मिना सुब्बा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन् ।