• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

एमसीसी आजबाट पूर्ण कार्यान्वयनमा

काठमाडौं । नेपाल सरकार र अमेरिकी विकास सहयोग मिलेनियिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को संयुक्त लगानीमा निर्माण गरिने ६९.७ करोड अमेरिकी डलर (९२ अर्ब रुपैयाँ)को पूर्वाधार आयोजना तथा कार्यक्रमको कार्यान्वयन आज (बुधबार)बाट सुरु हुँदैछ ।

बुधबार सिंहदबारस्थित अर्थ मन्त्रालयमा नेपाल सरकार र एमसीसीबीच लेटर अफ एक्सचेन्ज गरी आयोजना तथा कार्यक्रम कार्यान्वयनको औपचारिक सुरुआतको घोषणा गरिनेछ । अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन अलफोर्डबीच लेटर अफ एक्सचेन्ज हुने मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल)ले जनाएको छ । त्यसका लागि एमसीसीका उपाध्यक्ष क्यामरुन मंगलबार नै काठमाडौं आइपुगेका छन् ।

लामो विवाद र बहसपछि २०७८ फागुन १५ गते नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन भएको थियो । त्यसपछि उक्त परियोजना औपचारिकरुपमा कार्यान्वयनमा लैजाने बाटो खुलेको हो ।

सम्झौताअनुसार आयोजना निर्माणको कार्य औपचारिक रूपमा कार्यान्वयनमा आएको दिनदेखि पाँच वर्षभित्र सबै काम सम्पन्न गर्नुपर्ने हुन्छ । अर्थात २०८५ भदौ १२ भित्र सबै कार्यक्रम सम्पन्न गर्नुपर्ने हुन्छ । तर, सत्ता साझेदार दलभित्र एमसीसीका विषयमा अझै विवाद र विमति कायमै रहँदा सम्झौता अवधिभित्र सबै परियोजना निर्माण सम्पन्न हुनेमा आशंका गरिएको छ ।

कार्यक्रममा अमेरिकी सरकारको एमसीसी कम्प्याक्ट कोषको ५० करोड अमेरिकी डलर अर्थात ६६ अर्ब रुपैयाँ अनुदान र नेपाल सरकारको १९.७ करोड अमेरिकी डलर अर्थात २६ अर्ब लगानी रहेको छ । त्यसबाट राष्ट्रिय गौरवका विद्युत् प्रसारण लाइन र सडक मर्मत गरी दुईवटा आयोजना रहेका छन् । नेपाल तथा एमसीसीबीच २०७४ भदौ २९ गते नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो ।