• २०८३ असार १५
  • 2026 June 29, Monday

इजरायलमा बेपत्ता विपिनको अवस्था पत्ता लगाईदिन परराष्ट्र मन्त्री साउदको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता रहेका नेपाली विद्यार्थी विपीन जोशीको स्थिती पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन् ।

आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तराष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले बेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेका हुन ।

कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपीन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने बताए ।

उनले भने, ‘विपीनसहितका नेपाली विद्यार्थीहरू बंकरमा लुकेर बसेको बेलामा आक्रमणकारीले छोटो समयमा पटकपटक आक्रमण गरेको देखिन्छ । पहिले गोली चलाएको र त्यसपछि ग्रिनेट फालेको देखिन्छ । प्रत्यक्षदर्शी विद्यार्थीले भनेअनुसार दुईवटा ग्रिनेट फाल्दा एउटा नपड्किदै विपीनजीले ग्रिनेट बाहिर फ्याँकेको देखिन्छ ।’

प्रत्यक्षदर्शी विद्यार्थीले देखेअनुसार त्यसपछि केही थाइल्यान्डका विद्यार्थीसँग विपीनलाई पनि अपहरण गरेर लगेको उनले बताए ।

उनले भने, ‘उहाँको स्थिती पत्ता लगाइदिनका लागि हामीले इजरायल सरकारसँग आग्रह गरेका छौं । इजरायल सरकारले पनि उहाँको स्थिती के हो भन्ने विषयमा पत्ता लगाउने प्रतिबद्धता जनाएको छ ।

तपाई(अन्तर्राष्ट्रिय सञ्चारमाध्यम) हरूमार्फत अन्तर्राष्ट्रिय संघसंस्था, विभिन्न कूटनीतिक मिसनहरूसँग पनि उहाँको स्थिती पत्ता लगाइदिनका लागि अनुरोध गर्न चाहन्छु ।’