काठमाडौं । पाल्पाको रानीमहल नजिकै गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
तानसेनबाट रानीमहल जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जिप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी हेलम्बु शर्माका अनुसार जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परेकाहरू तीन जना महिला, दुई बालबालिका र एक पुरूष रहेका छन् ।
उनीहरूलाई उद्धार गरी अस्पताल लगि नसकिएकोले मृत्यु घोषणा भने भएको छैन ।
दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारको लागि अस्पताल लगिएको छ । यद्यपि गाडीमा कति जना यात्रु थिए भन्ने खुलिसकेको छैन ।
घटनास्थल रानीमहल दरबारदेखि डेढ किलोमिटरको दुरीमा छ । तानसेन नगरपालिका अन्तर्गत पर्ने बैकुण्ठभिरबाट दुर्घटनामा परेको उक्त जिप सडकदेखि ७० मिटर भन्दा तल छांगोमा खसेको छ ।
घटनास्थल अत्यन्त अप्ठ्यारो स्थानमा रहेको र दुर्घटनामा परेकाहरुको उद्धार गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।