काठमाडौं । संघीय संसद्को जारी हिउँदे अधिवेशन आजदेखि अन्त्य गर्ने तयारी भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बुधबार बसेको बैठकमा अनौपचारिक रुपमा संसद् अधिवेशन अन्त्यको बारेमा जानकारी गराएको थियो ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक भ्रमणका अवसरमा उनले संसद्को संयुक्त सदनलाई सम्वोधन गर्ने प्रयोजनका लागि मात्र अधिवेशन बोलाईएको थियो । तर संसद सचिवालयले अधिवेशन बोलाउनुअघि पालना गर्नुपर्ने परम्परागत औपचारिकता भने पूरा गरेको थिए। यो राजनीतिक सहमतिमा गरिएको निर्णय भएकाले कुनै पनि दलले यसमाथि प्रश्न उठाएनन् ।
अधिवेशन अन्त्य हुनुअघि सांसदहरूको १० दिनभन्दा बढी समयको बिदा स्वीकृत गर्ने, सांसदहरूले सोधेका प्रश्न टेबल गर्ने लगायतका कार्यसूची तय हुन्छ । जुन विषय बिहीबार बिहान ११ बजेका लागि बोलाईएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा परेका छन् ।
तर, सरकारबाट आज अधिवेशन अन्त्य गर्ने विषयमा आधिकारिक जानकारी भने प्राप्त नभएको संघीय संसद् सचिवालय स्रोतले जनाएको छ ।
आजको सम्भावित कार्यसूचीमा शीर्ष नेताले सम्बोधन गर्ने विषय पनि परेको छ ।