
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भूराजनीतिक रूपमा चीनलाई घेरा हाल्न नेपाली भूमि प्रयोग गर्ने कुनै पनि कामलाई स्वीकार नगर्ने बताएका छन् ।
चीन भ्रमणको क्रममा युनान प्रान्तमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भूराजनीतिक रुपमा चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि कामलाई स्वीकार गर्न सक्दैनौं ।’
उनले कुनै पनि देशबाट विभिन्न उद्देश्य साथ आउने सैन्य-सम्बन्धित सहयोग, छिमेकीविरुद्ध प्रयोग गर्ने रणनीति र भू-राजनीतिक प्रतिस्पर्धाको विपक्षमा रहेको पनि बताए ।
यस्ताे छ सम्बाेधनकाे पूर्णपाठ :
(नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपालले चीन भ्रमणको क्रममा चीनको युनान प्रान्तमा आयोजित Sharing the Achievements of Belt and Road Forum विषयक चिनियाँ कम्युनिष्ट पार्टीको दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका राजनीतिक पार्टीहरुको सम्वाद कार्यक्रममा दिनु भएको मन्तब्य, १० नोभेम्बर, २०२३)
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग मन्त्री महामहिम Liu Jian Xiao ज्यू,
युनान प्रान्तका सेक्रेटरी महामहिम Wang Ning ज्यू,
आमन्त्रित विशिष्ट अतिथिगण,
सहभागी साथीहरु !
सबैलाई म विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि र संसारकै उच्च शिखर सगरमाथा रहेको देश, त्यहाँका शान्तिप्रेमी प्रगतिशिल जनता, मेरो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र हाम्रो अहिलेको चीन भ्रमणमा रहेका सदस्यहरु सबैकोतर्फबाट हार्दिक अभिवादन गर्दछु ।
हामीलाई निमन्त्रणा गरेर दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाको महत्वपूर्ण र अग्रगामी प्रवेशद्वारमा आयोजित यो विशेष कार्यक्रममा मन्तव्य राख्ने एवम्चीनका विभिन्न स्थानहरु भ्रमण समेत गरी चिनियाँ विशेषता सहितको समाजवाद निर्माणको क्रममा भएको विकास र समृद्धिलाई नजिकबाट अवलोकन गर्ने अवसर दिएकोमा चिनीयाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, चीन सरकार, युनान प्रान्तको सरकार लगायतलाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।
उपस्थित महानुभावहरु,
आजको यस फोरमको विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिले म केही दिन पहिले मात्र नेपालमा विनाशकारी भूकम्प गई ठूलो धन जनको क्षति भएकोमा चीनका महामहिम राष्ट्रपतिज्यूले नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीज्यूलाई टेलिफोन गरी दुःख व्यक्त गर्नुभएको थियो, हिजो मात्र युनान प्रान्तको तर्फबाट हामीसँगको औपचारिक वार्तामा रु. ५० हजार अमेरिकी डलरको आर्थिक सहायता उपलब्ध गराउने घोषणा भएको छ र चिनीयाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले रु. दश लाख आर.एम.बी.को आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । यी सबै सहानुभुति तथा सहयोग घोषणाका लागि हामी महामहिम राष्ट्रपति, आई.डि.सि.पि.सी. र युनान प्रान्त प्रति हार्दिक कृतज्ञता एवम्आभार व्यक्त गर्दछु ।
मित्रहरु,
आजको फोरमको विषयवस्तुका सन्दर्भमा सबैभन्दा पहिलेहालै मात्र बी.आर.आई.ले विगत दश बर्षमा गरेका प्रगति र उपलब्धिको समीक्षा सहित उक्त सहयोगलाई थप अघि बढाउने प्रतिबद्धताका साथ Third Belt and Road International Cooperation Summit Forum मा चीनका राष्ट्रपति महामहिम सी चिनफिङले ले घोषणा गर्नुभएको सहयोगका आठ मुख्य चरणले बी.आर.आई.लाई थप गतिकासाथ अघि बढाउने विश्वास व्यक्त गर्दछु । उहाँले घोषणा गर्नुभएको कनेक्टिभिटि (आवागमन), खुल्ला विश्व अर्थतन्त्रलाई सहयोग, व्यवसायिक सहायता योजना, हरित विकास, विज्ञान प्रविधिको नवप्रवर्तन, जनता–जनताबीच आदान प्रदान, एकीकृत सहयोग परियोजना र बेल्ट र रोडको लागि संस्थागत विकासलाई सुदृढ गर्ने विषयहरु सह्रानीय र दुरगामी महत्वका छन्। महामहिम सी को उक्त सम्बोधनमा अशान्तिको सामना गरिरहेको विश्वमा विश्वशान्ति, बहुपक्षीयता र सहयोगलाई जोड दिदै बी.आर.आई. मार्फत विश्वलाई उच्च गुणस्तरको सार्वजनिक वस्तु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त हुनु सिंगो विश्वकोलागि खुसीको विषय हो । उक्त मन्तव्य सहितको घोषणामा भविष्यको लागि सहयोग सुनिश्चित गर्न मार्गदर्शक सिद्धान्तहरु, प्लेटफर्म र मूल्याङ्कन प्रणालीहरु प्रस्तुत गरिएबाट बी.आर.आई.ले आगामी दिनमा थप गति प्राप्त गर्ने हाम्रो अपेक्षा रहेको छ । एक लाख ट्रेनिङ्ग अवसर, विज्ञान र प्रविधिको अन्वेषणका लागि आगामी ५ बर्षमा १०० वटा प्रयोगशाला निर्माण, नमुना परियोजना, “सानो तर स्मार्ट” जिविकोपार्जन कार्यक्रम, बैंकहरुद्वारा अरवौ रकमको सहयोग परियोजना स्थापना जस्ता कार्यक्रमबाट आगामी दिनमा सिंगो विश्व लाभान्वित हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । १००० ओटा साना जीविकोपार्जन सहायता परियोजना कार्यान्वयन गर्ने चीनको प्रतिबद्धताले बी.आर.आई. मार्फत चीनले मानव कल्याणका लागि गर्ने कामको नमूना प्रस्तुत गर्दछ ।
BRI खुला र समावेशी दृष्टिकोण सहितको पहल हो, यसले विश्वव्यापी आर्थिक वृद्धि र आधुनिकीकरणका प्रयासहरूमा महत्वपूर्ण योगदान दिन्छ । हामी बेल्ट एण्ड रोड इनिसिएटिभलाई विशुद्ध सहयोगी प्रयासको रूपमा हेर्छौं जसले नेपालजस्ता देशहरूको आधुनिकीकरण प्रक्रियालाई गति दिन सहयोगी भूमिका खेल्छ । नेपाल बी.आर.आई.मा समर्थन र सहभागिता जनाउने शुरुवातकै देश हो र हामीले यसमा सहभागिता जनाएको झण्डै एक दशक भैसकेको छ । बेल्ट एण्ड रोडसँगको नेपालको सहकार्यलेज्ञान र प्रविधिको आदान प्रदान एवम्पूर्वाधार र विकास परियोजनाहरूमा फलदायी नतिजा प्राप्त हुनेहाम्रो अपेक्षा रहेको छ । भुपरिवेष्ठित राष्ट्रबाट भुजडित राष्ट्रको रुपमा नयाँ परिभाषा निर्माण गर्न, लिष्ट डेभलभ कन्ट्रीबाट ग्र्याजुएसन हुन र दिगो विकास सहित कृषि तथा उद्योगको पावरहाउस बन्दै पर्यटकहरुको गन्तव्य मुलुकको रुपमा नेपाललाई विकास गर्न वि.आर.आई.ले सहयोग पुग्ने विश्वास गरेका छौँ । यस मार्फत जुन गतिका साथ परियोजनाहरु नेपालमा अघि बढाउनुपर्ने थियो त्यो गतिका साथ बढाउन नसकिएको सत्यतालाई स्वीकार गर्दै हामीले आगामी दिनमा वी.आर.आई. अन्तर्गत प्रस्तावित परियोजनाहरुलाई मूर्त रुप दिन र थप परियोजनाहरु निर्माण गरी कार्यान्वयन गर्न चाहन्छौं । हामी कुनै पनि देशबाट विभिन्न उद्धेश्यका साथ आउने सैन्य–सम्बन्धित सहयोग, हाम्रा छिमेकी विरुद्ध हामीलाई प्रयोग गर्ने रणनीति र भू–राजनीतिक प्रतिस्पर्धाको विपक्षमा छौं ।
उपस्थित महिला तथा सञ्जनवृन्द,
नेपाल र चीन बीचको सम्बन्ध सदियौं देखिको गहिरो एवम्इतिहास र सँस्कृतिद्वारा बाधिएको छ । एउटा छिमेकी देशका रुपमा हामीले भौगोलिक निकटता मात्र होइन आपसी सहयोग र विकास प्रवर्द्धनको प्रतिबद्धतालाई पनि साझा बनाएका छौं । हाम्रो मित्रता सम्मान, विश्वास र एक अर्कोलाई सहयोग गर्ने प्रतिवद्धतामा आधारित छ । यो हार्दिक, घनिष्ट र समस्यारहित रहेको छ । समयको क्रम सँगै नेपाल र चीनको सम्बन्ध व्यापार, पूर्वाधार विकास, साँस्कृतिक आदान प्रदान र जनसम्बन्धका विविध क्षेत्रमा विस्तारित छन्। यस क्षेत्रमा शान्ति र समृद्धि हासिल गर्ने लक्ष्य भएको हाम्रो दिगो सम्बन्धलाई कुटनीतिक सम्बन्धले थप बलियो बनाएको छ भने यो मित्रता भौगोलिक सीमारेखा र साँस्कृतिक भिन्नता भन्दा माथि उठेको छ । हामी दुवै एक अर्काको चासो र चिन्ता प्रति सचेत छौं । नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा एवम्नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिन प्रतिवद्ध छ । साथै हङकङ, ताइवान लगायतका विषयमा हामी चीन सरकारसँगै रहेका छौं । पछिल्लो समयमा समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग गरी घेरा हाल्ने एवम्कमजोर बनाउने कतिपय क्रियाकलाप प्रति हामी सचेत छौं । नेपालमा आन्तरिक द्वण्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोग मार्फत भूराजनीतिक रुपमा चीनलाई घेरा हाल्न हाम्रो भूमी प्रयोग गर्ने कुनै पनि कामलाई हामीले स्वीकार गर्न सक्दैनौं ।
उपस्थित सज्जनवृन्द,
चिनियाँ कम्युनिष्ट पार्टी (CPC) र दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका अन्य राजनीतिक दलहरूबीचको सहकार्य आपसी समझदारी र साझा उद्देश्यको भावनामा आधारित छ । चिनियाँ कम्युनिष्ट पार्टीले यी क्षेत्रका विभिन्न राजनीतिक दलहरूसँग खुला संवाद, विचारको आदानप्रदान र क्षेत्रीय एवम्विश्वव्यापी मुद्दाहरूमा एक अर्कोलाई सहयोग तथा प्रोत्साहन सहित फलदायी सम्बन्धहरू स्थापना गर्ने कोशिस गरेको छ । यस प्रकारको सहयोग तथा दृष्टिकोणले दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियामा शान्ति, स्थिरता र विकासलाई सुदृढ पार्ने लक्ष्य राखेको छ । रचनात्मक छलफल र साझेदारी पहलहरूमा संलग्न भएर सीपीसी र दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका अन्य राजनीतिक दलहरूले क्षेत्रीय सद्भाव, आर्थिक संवृद्धि र सांस्कृतिक आदानप्रदानको प्रवद्र्धनमा योगदान दिने कोशिस गरिरहेका छौं । यसबाट बहुपक्षीय वार्ताको महत्वलाई जोड दिँदै साझा चुनौतिहरूको सामना गर्न मिलेर काम गर्ने, सम्पूर्ण क्षेत्रको सुधारका लागि सहकार्यको वातावरण बनाई समाधानमा पुग्न सहयोग पुग्नेछ । अतः दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका राजनीतिक पार्टीहरुले सिपिसीसँगको सम्बन्धलाई थप बलियो र गहिरो बनाउँदै यसलाई समाज विकासका विविध पक्षमा फलदायी परिणाम निकाल्ने गरी योजना, तयारी एवम् कार्यान्वयन गर्नसक्नु पर्दछ ।
उपस्थित मित्रहरु
यो कार्यक्रम आयोजना भैरहेको प्रान्त युनानले कृषि, साँस्कृतिक पर्यटन र हरित अर्थतन्त्र उद्योग जस्ता विषयहरुमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको जानकारी पाउँदा र यी विषयहरु नेपाल विकासको लक्ष्यसँग मिल्दो जुल्दो देखिएकोले पनि यस भ्रमणबाट हामी थप लाभान्वित हुने अपेक्षा गरेका छौं । स्प्रिङ सिटी र फुलहरुको राजधानीको रुपमा विश्वप्रसिद्ध युनान प्राकृतिक स्रोत र पोर्ट इकोनोमीको माध्यमबाट हात्तिको लम्काई जस्तै गतिका साथ अघि बढि रहेकोमा खुसी व्यक्त गर्दछु । राष्ट्रपति महामहिम सी चिनफिङले पटक पटक यस प्रान्तको भ्रमण गर्दै यसलाईजातीय एकताको नमुना, पर्यावरणीय संरक्षणको अगुवा र दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाको पावरहाउसको रुपमा अगाडि बढाउन चाहेको बताए अनुरुप युनानले चीनको आधुनिकीकरणको अभियानमा एउटा नयाँ अध्याय थपेको जानकारी पाउँदा हामी थप खुसी छौं । यसै क्रममा सन् २०१९ मा भएको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका सन्दर्भमा नेपालले सघन सहकार्य गरी सहयोग मार्फत लाभ लिनसक्ने चीनका तीनवटा प्रान्तहरुमध्ये युनान प्रमुख रहेको बताएको सन्दर्भलाई समेत उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु । अविकसित भौतिक संरचनाका बाबजूद कृषि, पर्यटन, हाईड्रोपावर र हरित विकासको ब्यापक संभावना रहेको नेपालले नजिकको हवाई सम्पर्क समेत रहेको युनान सरकारसँगको सहकार्यमा बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत परियोजनाहरुको निर्माण गरी केन्द्र, प्रदेश तथा स्थानीय सरकारका साथै जन सम्बन्धका आधारमा परियोजनाहरु अघि बढाउने अपेक्षा मैले गरेको छु । यो कार्यक्रमले क्षेत्रीय एवम्अन्तर्राष्ट्रिय सहयोगलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्दछु ।
अन्त्यमा,
कतिपय देशहरूको गलत दृष्टिकोणको विपरीत, बेल्ट एन्ड रोड पहलले शान्तिपूर्ण सहयोग, खुलापन र पारस्परिक लाभको भावनालाई अघि बढाउने सोंच अत्यन्तै सह्रानीय छ । चीनसँगको सहकार्य र बेल्ट एण्ड रोड पहललाई अगाडि बढाउन अन्यत्र जस्तै नेपालमा पनि राजनीतिक दलहरूको विशेष महत्व रहेकोछ । दक्षिण एसिया र दक्षिणपूर्वी एसियासँग चीनको महत्वपूर्ण प्रवेशद्वारको रुपमा रहेको युनानले नेपालको विकास लक्ष्यसँग मिल्दोजुल्दो सहयोग आदानप्रदानका लागि ठूलो सम्भावना बोकेको छ । उल्लेखित तथ्य र दृष्टिकोणका आधारमा हामी वी.आर.ई. लाई थप गतिका साथ अघि बढाउन, चीन तथा चिनियाँ कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउन तथा चिनियाँ विशेषता सहितको समाजवादको जगमा आ–आफ्नो देशको विशेषतामा आधारित समाजवाद (जुन नेपालको सन्दर्भमा नयाँ संविधानमा समेत उल्लेखित छ)को मोडेल निर्माण गरी कार्यान्वयन गदै समाजवादी विश्व निर्माण गर्न प्रतिबद्ध बनौँ ।
धन्यवाद !