• २०८३ असार १६
  • 2026 June 30, Tuesday

जनआवाज सुन्न रास्वपाका सांसद र उम्मेदवारहरू घरदैलोमा जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रतिनिधि सभाका उम्मेदवारहरू प्रतिबद्धता सम्झँदै मतदाताको घरघर जाने भएका छन् ।

शनिबारदेखि सोमबारसम्म जनआवाज सुन्न घरघर जान लागिएको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

‘आम मतदाताको घरदैलोमा गएर सुझावहरू संकलन गर्ने तयारी गरेका छौैं । उहाँहरूको गुनासोहरू सुन्नेछौं,’ बुर्लाकोटीले भने, ‘हिजो चुनावको बेलामा हतारमा प्रतिबद्धताहरू व्यक्त गरेका थियौं । पार्टीका सांसद, नेता–कार्यकर्ताको कार्यशैलीबारे नागरिकका मनमा के उठिरहेका छन्, ती सबै सुन्नेछौं ।’

उनले रास्वपाका प्रत्यक्ष निवाचित ७ सांसदसहित उम्मेदवारहरू १३१ जना र समानुपातिकतर्फ निर्वाचित १३ सहित १०७ जना उम्मेदवारहरू घरदैलोमा जान लागेको बुर्लाकोटीले बताए ।

यसका लागि केन्द्रीय समिति, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहका कमिटीहरू परिचालन गरिने पनि उनले बताए ।

‘निर्वाचन क्षेत्रको उम्मेदवारसहित ६ वटै तहको कमिटी परिचालित गर्नेछौं । सुझावहरू संकलन गर्नेछौं,’ उनले बताए ।

रास्वपाले प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भएको सन्दर्भमा घरदैलो गर्न लागेको हो । कात्तिक २४ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले घरदैलो गर्ने निर्णय गरेको थियो ।

त्यस्तै रास्वपाले मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न लागेको छ । बैठकमा विशेष गरी पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि विचार–विमर्शको तयारी गरेको छ ।