काठमाडौं । मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेका अस्पताल व्यवसायी दुर्गा प्रसाईंले त्यसदिन माइतीघर मण्डलामा कुनै कार्यक्रम नगर्ने भएका छन् ।
प्रसाईंको निजी सचिवालयका सदस्य बिनोद बजगाईंले ‘माइतीघर मण्डलामा मंसिर ७ मा दाईको कुनैपनि कार्यक्रम नरहेको’ भनेर केहीबेर अघि बताए । तर अरु कुनस्थानमा कार्यक्रम आयोजना गर्ने भन्ने बारेमा परामर्श भैरहेकाले मंगलबार त्यसबारेमा जानकारी सार्वजनिक गर्ने बजगाईंले बताए ।
एमालेको भ्रातृ संगठन युवा संघ र अस्पताल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ का दिन माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने भनेर प्रचार प्रशार गर्दै आएका थिए । युवा संघले यसबारेमा अहिलेसम्म कुनै जानकारी दिएको छैन ।
दुवै पक्षले त्यसदिन बिहान ११ बजे माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने निर्णय गरेपछि गृह प्रशासन यसको व्यवस्थापन कसरी गर्ने भनेर परामर्शमा छ ।
शान्ति सुरक्षाको व्यवस्थापनलाई ध्यानमा राखेर दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम आयोजना गर्न दिननहुने भन्नेमा गृह प्रशासन निर्णयमा पुगिसकेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गृह सचिव, उपत्यकाका अरु दुइ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुसँगको परामर्शपछि माइतीघर मण्डलामा कुनै पनि प्रदर्शन लगायतका कार्यक्रम आयोजना गर्न रोक लगाईने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षा निकायका प्रमुखहरुसँग देशको समग्र शान्ति सुरक्षाको अवस्था र मंसीर ७ मा गरिने भनिएको प्रदर्शनको व्यवस्थापनबारेमा परामर्श गरिसकेका छन् ।
माइतीघर मण्डला मात्रै होइन, काठमाडौंका कुनै पनि एउटै स्थान, समय र मितिमा दुई पक्षको कार्यक्रम आयोजना गर्न दिननहुने निष्कर्षमा पुगेका सुरक्षा अधिकारीहरुले वैकल्पिक स्थानमा कार्यक्रम गर्न सल्लाह दिनुुपर्ने सहमति गरेका छन् ।
गृह प्रशासनले काठमाडौंका तीनकुने, खुलामञ्च, नारायणचौर, बालाजुको माछापोखरी, कीर्तिपुर र अरु पनि सम्भावित स्थान खोजेर त्यता कार्यक्रमहरु गर्न आयोजकलाई सल्लाह दिनुपर्ने बारेमा छलफल गरेका छन् ।
दुर्गा प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा प्रदर्शन गर्न लागेको बताउँदै आएका छन् ।
युवा संघले मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध प्रदर्शन लागेको बताएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो । पछि त्यसविरुध्द परेको रिटमा आदेश गर्दै सर्वोच्च अदालतले त्यो निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।
अहिले शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको कारण खुलाएर स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निश्चित समयका लागि माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्न सकिने सरकारी अधिकारीहरुको भनाई छ ।