भूकम्पपीडितका लागि टहरा निर्माणमा कांग्रेसले इन्जिनियर र डकर्मीसहित २५० जना स्वयमसेवक खटाउने

काठमाडौं । नेपाली कांग्रेसले भूकम्पपीडितका लागि १ हजार घर बनाउन इन्जिनियर र डकर्मीसहित स्वयमसेवकको २५टोली प्रभावित क्षेत्र पठाएर श्रमदान गर्ने भएको छ ।

सोमबार बिहान धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयमसेवक टोली पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माल जानकारी दिए ।

उनले भने, ‘जाजरकोट र रूकुम पश्चिममा भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयमसेवक टोली पठाउने निर्णय भएको छ । एउटा टोलीमा १० जनाका दरले स्वयमसेवक पठाउने निर्णय भएको छ ।’

चिसोका कारण भूकम्पपीडित समस्यामा परेको भन्दै कांग्रेसले टहरा निर्माणमा श्रमदान गर्ने निर्णय गरेको हो ।

प्रभावित क्षेत्रमा टहरा बनाउन पठाउने भनिएको प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक सहित १० जना रहने विश्वकर्माले जानकारी दिए ।

उक्त टोलीले सुत्केरी र वृद्धवृद्धा रहेका परिवारलाई प्राथमिकतामा राखेर टहरा निर्माण कार्य अगाडि बढाउने विश्वकर्माको भनाई छ ।

चिसोका कारण अहिलेसम्म १० जना भूकम्पपीडितको मृत्यु भइसकेको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१