• २०८३ असार १६
  • 2026 June 30, Tuesday

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ न्यायाधीशद्वय पाण्डे र खरेलको इजलासमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा परेको छ । काठमाडौं जिल्ला अदालतले थुनामा पठाएकाहरूको निवेदनमाथि उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुन लागेको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगिएकाहरूको जाहेरीमा नेपाल सरकारले पूर्व विशिष्ट व्यक्तिहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाएको थियो । काठमाडौं जिल्ला अदालतमा दायर उक्त मुद्दामा अदालतले अभियुक्तहरू तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न नसकिने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । सोही आदेशविरुद्ध पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेक नारायण पाण्डे लगायतका व्यक्तिहरू उच्च अदालत पुगेका थिए ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार काठमाडौं जिल्ला अदालतले थुनामा पठाएकाहरूले थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी दायर रिटमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुनेछ ।

तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित नरेन्द्र केसी, टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा. ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसीले काठमाडौं जिल्ला अदालतको आदेश बेरितको रहेको हुँदा उक्त आदेश बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका थिए । उनीहरूमाथि काठमाडौं जिल्ला अदालतमा ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

रिट निवेदकसमेत रहेका प्रतिवादीहरुका तर्फबाट करिब ६५ जनाले बहसका लागि आफ्नो वकालतनामा बुझाएका छन् । मंगलबारदेखि निरन्तर सुनुवाइ भएमा ढिलोमा बिहीबारसम्म यस मुद्दामा आदेश गर्ने तयारी रहेको छ ।