• २०८३ असार १६
  • 2026 June 30, Tuesday

भारत नेपालको विकासमा सघाउन तयार छ : राजदूत श्रीवास्तव

काठमाडौं । भारत नेपाल सरकारसँग विकास सहकार्य गर्न तयार रहेको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् । शुक्रबार भएको भारतीय राजदूतावास र नेपाल सरकारको अर्थ मन्त्रालयको परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठकमा राजदूत श्रीवास्तवले उक्त कुरा बताएका हुन् ।

बैठकमा राजदूत श्रीवास्तवले भारतको नेपालसँगको बलियो विकास सहकार्यबारे जानकारी गराउनुका साथै भविष्यमा नेपाल सरकारले तोकेको प्राथमिकता अनुसार विकास सहकार्यमा नेपाललाई सघाउन र नेपाल सरकारसँग काम गर्न भारत सरकार प्रतिबद्ध रहेको बताए ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत सरकारको विकास सहयोगको प्रशंसा गरेका छन् । नेपालको विकास प्रयासलाई अघि बढाउन भारत सरकारले खेलेको महत्वपूर्ण भूमिकाबारे उनले उल्लेख गरेका छन् । अर्थमन्त्री डा.महतलेले अन्य सम्भावित क्षेत्रमा पनि यो सहयोगलाई थप अभिवृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

बैठकमा विविध सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) का साथै अनुदान सहयोगमा भारत–नेपाल विकास सहकार्य ढाँचा अन्तर्गत विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाबारे दुई पक्षबीच छलफल भएको थियो । बैठकमा भारत र नेपालबीच भविष्यमा हुनसक्ने सहकार्यका सम्भावित क्षेत्रहरुबारे पनि छलफल भएको जनाइएको छ ।

परियोजना कार्यान्वयनमा संलग्न नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधिका साथै भारतीय राजदूतावासका सम्बन्धित अधिकारी तथा कर्मचारीको बैठकमा सहभागिता थियो ।