एनसेल प्रकरणमा गाैतम नेतृत्वकाे एकता राष्ट्रिय अभियानले माग्याे सरकारसँग जवाफ

काठमाडाैं । वामदेव गाैतम अध्यक्ष रहेकाे नेकपा एकता राष्ट्रिय अभियानले एनसेलकाे शेयर खरिद गर्ने र बिक्री गर्ने दुवै पक्षलाई पक्राउ गरी आवश्यक अनुसन्धान थाल्न सरकारसमक्ष माग गरेकाे छ ।

कुनै पनि विदेशी वा स्वदेशी कम्पनी आफ्नो शेयर लगानीको वास्तविक मूल्य भन्दा २८ गुना कम मूल्यमा कम्पनी बेचेर बाहिरिन सम्भव नरहेकाे उल्लेख गर्दै यो राज्यलाई लुट्ने मनशायबाट प्रेरित काम भएकाे र यसमा संलग्नहरुलाई कार्वाही गर्नैपर्ने अभियानकाे जिकिर छ ।

नेपालमा काम गर्ने वातावरण नभएको भनेर एनसेलको लगानीकर्ता मलेशियन कम्पनी आजियाटाले नेपाल राष्ट्रकै विरुद्ध बक्तब्यबाजी गर्ने अपराध गरेको पनि अभियानकाे ठहर छ ।

कर छल्नकैनिम्ति यो नाटक गरिएको हो भन्ने स्पष्ट भइरहँदा पनि यसमा सरकार गम्भीर नभएकाे आराेप पनि अभियानले लगाएकाे छ । यसैगरी, अभियानले देशको कानून र नियम विपरित हाकाहाकी यस्तो लूट कसैको संरक्षण बिना सम्भव नभएकाेले सरकारसँग यसकाे जवाफ पनि मागेकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१