काठमाडाैं । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा भारतले नेपाललाई १० विकेटको फराकिलो अन्तरले हराएको छ ।
यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सकेको थियो ।
झिनो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भारतले ७.१ ओभरमा कुनै पनि विकेट नगुमाई जित हासिल गरेको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान आदर्श सिंहले अविजित १३ र आर्सिन कुलकर्णीले अविजित ४३ रनको योगदान गरे ।
जारी एसियाकपको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो तीनवटै खेलमा हार ब्यहोर्यो । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपाली टोली दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हारेको थियो ।
नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको छ । उक्त समूहबाट पाकिस्तान र भारत सेमिफाइनलमा पुग्ने बलियो सम्भावना छ ।