नेपालकाे शानदार प्रदर्शन, वेस्ट इन्डिज ‘ए’ माथि ६ विकेटको जित

काठमाडौं । मैत्रीपूर्ण टी–२० शृङ्खलाकाे अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हराएको छ ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ओभरमा ४ विकेटको क्षतिमा भेट्टायाे ।

नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ्स खेले । शेखले ३५ बलमा २ चौका र ५ छक्का हिर्काउँदै ५१ रन बनाए । साहले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५८ रन बनाए ।

यसैगरी, कुशल मल्लले १८ बलमा ३७ रन बनाएर टोलीलाई जित दिलाए । उनले ३ चौका र ३ छक्का हाने ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाएका थिए ।

कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर जोनसन चाल्र्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले शानदार बलिङ गरे । सोमपालले ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने सागरले २ ओभरमा १७ रन खर्चदै ३ विकेट हात पारे । अविनाश बोहराले १ विकेट लिए ।

नेपालकाे जितकाे बाबजुद वेस्ट इन्डिजले ३–२ ले शृङ्खला आफ्नो पक्षमा पारेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । त्यसपछि भने नेपाल लगातार तीन खेलमा पराजित भयाे ।

दोस्रो खेलमा १० रनले हारेको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भयो । चौथो खेलमा नेपाल २८ रनले स्तब्ध बनेकाे थियाे ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७