आज कांग्रेसले संसद अवरोध नगर्ने, नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको संसद बैठक चल्न दिने भएको छ । आज सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम नरोक्ने भएको हो।

गृहमन्त्रीको सहकारी काण्डको विषयलाई लिएर संसद अवरोध गर्दे आएको कांग्रेसले संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिएको थियो । तर आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको हो ।

संसदीय दलको बैठक अगाडि महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। भेटमा प्रचण्डले प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्न आग्रह गरेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

संयुक्त बैठकपश्चात् साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। साँझको बैठक भने अवरोध गर्ने कांग्रेसको भनाइ छ।