• २०८३ असार १६
  • 2026 June 30, Tuesday

नीति तथा कार्यक्रममा खेलकुद, प्रतियोगिता र पूर्वाधारमा लगानी बढाइने

काठमाडौं । सरकारले नेपालको परम्परागत तथा मौलिक खेलहरुको प्रबन्ध र क्षमतावान खेलाडीहरुको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गर्ने घोषणा गरेको छ ।

मंगलबार संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अगामी आर्थिक वर्षमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने बताए ।अन्तर्राष्ट्रिय खेलकु्द प्रतियोगितामा नेपालको सहभागिता बढाइने पनि उनले सुनाए ।

आधुनिक प्रविधियुक्त स्पोर्टस्को अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सरकारको नीति रहेको पौडेलले बताए ।त्यस्तै, विद्यालयस्तरका शिक्षक र विद्यार्थीहरुलाई खेलकुदसम्बन्धि तालिम दिइने नीति तथा कार्यक्रममा छ । बालबालिकाको उमेरगत खेलकुदको आयोजना गरिने सरकारको नीति रहेको पौडेलले बताए ।

खेलाडीको भत्ता र वृत्तिविकासका लागि विशेष कार्यक्रमको आयोजना गरिने नीतिमा छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी खेलाडीहरुलाई सम्मान तथा जीवन निर्वाह भत्ता प्रदान गरिने पौडेलले बताए ।त्यसैगरी, खेलकुद पूर्वाधारलाई उच्च प्राथमिकतामा राखी काठमाडौंको मूलपानी, मोरङको विराटनगर, कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणमा तीव्रता दिइने उनले बताए ।

चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा निर्माण गर्ने सरकारको नीति रहेको संसद्को संयुक्त सदनमा घोषणा गरिएको छ ।