काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तन र उद्यमशीलता विकास गरी सरकारले बलियो आर्थिक संरचना निर्माण गर्ने नीति लिएको बताएका छन् । उनले सो नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउने र आर्थिक विस्तारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
बुधबार काठमाडौंमा नेपाल–युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘नेपाल–इयु व्यापार मञ्च’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए ।
‘सरकारले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढवा दिने नीति लिएको छ । बलियो आर्थिक संरचना सिर्जना गर्ने नेपालको नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउँछ र आर्थिक विस्तारमा सहयोग गर्छ’ दाहालले भने ।
यस्तै दाहालले गत महिना सम्पन्न लगानी सम्मेलनबाट अन्तर्राष्ट्रिय समुदाय नेपालमा लगानी ल्याउन उत्सुक छ भन्ने सन्देश प्रवाह भएको जिकिर गरे ।उनले वैदेशिक लगानी भित्र्याउन नेपाल युरोपेली सङ्घका सदस्य मुलुकहरूसँग थप सहकार्य गर्न तत्पर रहेको समेत उल्लेख गरेका छन् ।सरकारले ५० करोडसम्मका प्रत्यक्ष वैदेशिक लगानीका आवेदनका लागि हालै ‘स्वचालित रुट’ सुरु गरेको जानकारी दिँदै उनले त्यसले नेपालमा व्यवस्थापकीय दक्षता र पूँजी भित्रिने विश्वास व्यक्त गरे ।
दाहालले भने, ‘हामीले स्वचालित मार्गमार्फत प्राप्त लगानीका केही आवेदनहरू स्वीकृत गरी अन्तर्राष्ट्रिय साझेदारमार्फत हाम्रा प्रयासहरूलाई बलियो बनाउन खोजिरहेका छौँ । यसले नेपालमा पुँजी मात्र होइन प्राविधिक र व्यवस्थापकीय विशेषज्ञता पनि ल्याउनेछ ।’
यस्तै, दाहालले वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यवहारिक हुने हरित अर्थव्यवस्थालाई सरकारले प्राथमिकता दिएको स्पष्ट पारे ।
‘हाम्रा विकासका गतिविधिहरू राष्ट्रिय हित र विश्वव्यापी वातावरणीय लक्ष्यहरूसँग मिल्दाजुल्दा छन् । नेपाल पेरिस सम्झौताप्रति सधैँ प्रतिबद्ध छ । हाम्रा विकास योजना र कार्यक्रमहरूमा जलवायु कार्यलाई सक्रियरूपमा समावेश गर्दै आएको छौँ ।’
स्रोत र क्षमताको अन्तर र जलवायु परिवर्तनले निम्त्याएका निरन्तरका चुनौतीको सामना गर्दै नेपाल सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनमा पुग्ने प्रतिबद्धता दाहालले पुन दोहोर्याएका छन् ।