• २०८३ असार १६
  • 2026 June 30, Tuesday

ओलीको धम्कीले कांग्रेस डराउँदैन : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्रीलाई कांग्रेसले संसदको रोस्टममा बोल्न नदिने भन्ने कुराको प्रतिवाद गरेका छन् । उनले बोल्न समय दिन्छौं भन्दा गृहमन्त्री स्वयम र नेकपा एमालेले त्यसलाई अवज्ञा गरेको दाबी गरे । साथै डा. कोइरालाले एमाले अध्यक्ष ओलीको धम्कीले कांग्रेस नडराउने प्रतिक्रिया पनि दिए ।

बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले गृहमन्त्री रवि लामिछानेलाई आफूहरुले बोल्नै नदिएको भन्ने हल्ला गलत भएको जिकिर गरे ।

कोइरालाले सरहकारीको रकम अपचलनमा मुछिएका रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेलाई आफूहरुले धारणा राख्न अनुरोध गर्दा स्वयं लामिछाने र नेकपा एमालेले अस्वीकार गरेको बताए ।

‘हामीले बोल्न नदिने भनेर भनेका छैनौं । यो कुरामा तपाईंहरु क्लियर हुनुपर्यो । हामीहरुले के भनेका छौं भने गृहमन्त्रीले आएर रोस्टममा बोल्नुहुन्छ । बोल्न पाउनु हुन्छ, बोल्नुस । हामीहरुलाई चित्त बुझ्यो भने ठिक छ, चित्त बुझेन भने हामी बोल्छौं भनेका हौं । गृहमन्त्रीले त्यसलाई न त स्वीकार्नु भएको छ नत एमालेले त्यसलाई स्वीकारेको छ । तपाईंहरु (मिडिया) क्लियर हुनुभएन भने अप्ठ्यारो पर्छ । वास्तविकता यहि हो।’

उनले गृहमन्त्रीको राजीनामा समेत कांग्रेसले नमागेर संसदीय छानबिन समितिको माग गरेको उल्लेख गर्दै संसद अवरुद्ध गर्नुपर्ने कारण अरु नभएको बताए ।यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको बुधबारको अभिब्यक्तिप्रति लक्षित गर्दै राजाको धम्कीमा नडराएको कांग्रेस अब पनि नडराउने भन्दै जवाफ फर्काए ।‘जुन धम्कीको भाषा आइराखेको छ त्यो मान्य छैन । राजाको धम्कीमा नेपाली कांग्रेस डराएन । अब पनि कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौ,’ कोइरालाले भने ।