
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बिहीबार बसेको बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका छन् ।
उक्त बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको वेल घेराउ गरी नाराबाजी गरेका थिए ।
कांग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिए । लगत्तै सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरे ।
त्यसपछि कांग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठक कक्ष छाडेर बाहिर गए । सत्ता पक्षका सांसदहरू मात्र बाँकी रहेको बैठकमा सभामुखले मतदान प्रक्रिया पूरा गराए ।
विश्वासको मत लिने प्रस्तावको पक्षमा २८ मत पर्यो । यससँगै मुख्यमन्त्रीले विश्वासको मत पाएको सभामुख भण्डारीले बताए ।