• २०८३ असार १६
  • 2026 June 30, Tuesday

विद्यार्थी महोत्सवमा एक लाख युवा दर्शक

काठमाडौं । अनेरास्ववियुका अध्यक्ष समिक बडालले ‘विद्यार्थी महोत्सव’ ले ‘कल्चरल मूभमेन्ट’ को शुरुवात गरेको बताएका छन् । महोत्सवमा एक लाख विद्यार्थीले अवलोकन गरेको आयोजकको भनाई छ ।‘विद्यार्थी महोत्सव–२०८१’ विद्यार्थी आन्दोलनको ‘प्याराडाईम सिफ्ट’ को ऐतिहासिक घटनाका रुपमा रहने अध्यक्ष बडालको विश्वास छ ।

यही जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित महोत्सव ‘विद्यार्थी महोत्सव’ मात्र नभएर देशप्रतिको विद्यार्थीको कर्तव्यबोध र शिक्षामा आमूल परिवर्तनको लागि फरक अभियान भएको बडालको भनाई छ । उनले राजनीतिप्रति युवापुस्ताको नयाँ धारणा बनाउन महोत्सव सफल भएको उल्लेख गरे ।

‘विद्यार्थी आन्दोलनको जीवनमा एक नवीनतम प्रयोग थियो विद्यार्थी महोत्सव–२०८१ । देशमा केही गर्नुपर्दछ र केही गर्न सकिन्छ भन्ने आशा जगाउने अभियान थियो । ‘आइ हेट पोलिटिक्स होइन, आइ केयर पोलिटिक्स’ भन्ने नयाँ पुस्ता निर्माणको शुरुवात थियो,’ अध्यक्ष बडालले चर्चा गरे ।महोत्सवले विद्यार्थी वर्गमा राँके जुलुस लिएर सडक आन्दोलन गर्ने विद्यार्थी संगठनको आन्दोलनको छबिलाई परिवर्तन गर्दै नयाँ विचारधाराको रचनात्मक र सिर्जनशील विद्यार्थी संगठन निर्माणको छबि बनाउने आयोजकको विश्वास छ ।

अध्यक्ष बडालले महोत्सवले अवको विद्यार्थी आन्दोलनलाई शिक्षाको गुणस्तर, समानता, पहुँच विस्तार र रोजगारीसँग जोड्ने गरी अगाडि बढाउन प्रेरणा दिएको बताए ।‘यो एक ‘कल्चरल मूभमेन्ट’ को शुरुवात हो । हामी लामो यात्रा तय गर्दैछौं । आफू र सरकारलाई प्रश्न गरेर आफैंलाई परिमार्जन गर्दै परिवर्तनका लागि दवाब सिर्जना गर्नुपर्छ । हामी शिक्षामा समानता, गुणस्तर र रोजगारीको सुनिश्चिताको लागि आन्दोलनलाई अझै घनिभूत बनाउने छौं ।

देशमा राजनीतिक स्थिरताको लागि रचनात्मक आन्दोलन हाम्रो केन्द्रमा हुने छ । विद्यार्थी महोत्सवले हामीलाई थप उर्जा र हौसला प्रदान गरेको छ’ बडालले भने ।महोत्सवमा सीप विकास, कला, साहित्य, मनोरञ्जनदेखि रोजगारी र विद्यार्थी आन्दोलनमा विभिन्न समयमा भूमिका निर्वाह गरेका शीर्ष नेतृत्वसँग विद्यार्थी आन्दोलनको भविष्यबारे विषयगत सत्रमा अनेरास्ववियुले छलफल र विमर्शको समन्वय थियो ।