कांग्रेस सभामुखप्रति रुष्ट, समिति गठनको अडान कायमै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको मागमा अडिग रहने पुनः निर्णय गरेको छ ।शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दल बैठकले बिहीबारको संसद बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखले बैठकपछि बोल्दै सहकारीको रकम अपचलनमा गृहमन्त्री एवं रास्वपा सभापति लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानबिनको माग पुन जोडदार रुपमा राखिएको बताए ।लेखकले भनेका छन्, ‘संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको छ । कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानविन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ ।’

आजको बैठकले सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको ठहर समेत गरेको लेखकले जानकारी दिए ।‘प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौं । विपक्षी दल उभियो भने मात्रै पनि संसद अवरोध मानिन्छ । वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ । संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनु पर्दछ,’ कांग्रेस बैठकले निष्कर्ष निकालेको छ ।

लेखकले भने सभामुखले सभामा तटस्थ हुन नसकेको बताएका छन् । ‘सम्माननीय सभामुखको पद तटस्थता र निस्पक्षताको पद हो। तर, त्यस्तो भूमिका उहाँबाट भएन। हामीले सभामुखलाई तटस्थता र निस्पक्षता कायम राख्न आग्रह गरेका छौं ।’

संसदीय दलको बैठकले गरेका निर्णयहरु
ज्ञ। लाखौं नेपाली नागरिकले सहकारी संस्थामा वचत गरेको अरबौं रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको र यस्ता अपराधजन्य कार्यमा नेपाल सरकारका उपप्रधान तथा गृह मन्त्री माननीय रवि लामिछाने संलग्न रहेको विषय निरन्तर उठिरहेको छ । सहकारीका वचतकर्ताहरुले राखेको रकमको सुरक्षाको ग्यारेण्टी गर्न, वचत हिनामिना भई पिडित भएका वचतकर्ताहरुको रकम फिर्ता गर्न र हिनामिना, ठगीमा संलग्न माथि छानविन गरी कारवाही गर्ने सुनश्चितताको लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने विषय नेपाली कांग्रेस सहित संघीय संसदमा धेरै दलहरुले उठाई रहेका छन् ।

यो विषय सम्पूर्ण नेपाली जनताको चासो र सरोकारको विषय भई संसद बाहिर पनि गम्भीर रुपले उठिरहेको छ । संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको छ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानविन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ ।

द्द। नेपाल सरकार सहकारी ठगीबाट पिडित भएका नागरिक प्रति गैरजिम्मेवार र संवेदनहिन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको यो बैठक ठहर गर्दछ । सरकार र सत्ता पक्षलाई जनहित विरोधी यस्ता कार्यमा नलाग्न चेतावनी दिन चाहन्छ ।

घ। प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौं । संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अबरुद्ध भएको मानिन्छ । सम्माननीय सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत वैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ । संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनु पर्दछ ।

तटस्थताको लागि सभामुखले आफू निर्वाचित भएको दलसँगका सबै सम्बन्ध र पद समेत स्थगित गर्ने परम्परा रही आएको छ । सभामुख सिंगो सदनको सभामुख हुनु पर्दछ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ ।

 

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१