राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन् : सुहाङ नेम्वाङ

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले राजनीति फोहोरी खेल हो भन्ने भाष्य बदल्न युवा नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

आज नेकपा एमाले कोशी प्रदेश सम्पर्क समितिले आयोजना गरेको ‘युवा’ विषयक गोष्ठीमा सांसद नेम्वाङले व्यवस्था परिवर्तनपछि अवस्था परिवर्तन गर्दै जाँदा युवाको काँधमा धेरै जिम्मेवारी आइपरेको उल्लेख गरे ।
उनले पुरानो नेतृत्वले युवालाई अवसर नै नदिएको भन्ने कुरा गलत भएको औंल्याए । उनले नयाँ पुस्ताले पुरानो पुस्ताको कामलाई सम्मान गर्दै युवाले राजनीति फोहोरी खेल हो भन्ने जस्ता भाष्यहरु चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘राजनीति एकदमै फोहोरी खेल हो भन्ने जुन भाष्य छ अब तपाईं हामी मिलेर परिवर्तन गरेर अगाडि बढ्नुपर्छ । किनकी राजनीति कहिल्यै पनि फोहोरी हुँदैन । राजनीतिले सकारात्मक परिवर्तन ल्याउँछ, आर्थिक संमृद्धि ल्याउँछ, सुशासन ल्याउँछ । फोहोरी त केवल स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे भने त्यो फोहोरी हुन्छ ।’

नेम्वाङले अग्रज, युवा र सबै एकजुट भएर राजनीतिको भाष्य बदल्न कसरी सकिन्छ त्यसमा निचोड निकाल्न लाग्नुपर्ने आवश्यकता औंल्याए ।

यस्तै उनले देशमा केही पनि हुँदैन, भविष्य छैन भनेर नकारात्मकता फैलाइएको भन्दै त्यो भाष्यलाई नेतृत्वले चिरेर अगाडि बढ्नु आजको आवश्यकता भएको बताए ।

‘शुरुवात अब हामीबाटै गर्नुपर्छ, हामीले नै यसलाई परिवर्तन गर्दै लानुपर्छ । देशमै स्वरोजगारको वातावरण बनाउनुपर्छ । देशलाई समृद्धितर्फ लैजान हामीले सकारात्मक सोच राख्नुपर्छ,’ उनले भने ।

नेम्वाङले नेतृत्वले यो वा त्यो गर्यो नि भन्ने भ्रम सिर्जना हुनेगरी ‘अरे’ शब्दको प्रयोग गरेर हुँदै नभएको कामको बखान गर्ने प्रवृति बढेकोतर्फ जोड दिदै सत्य र तथ्यमा आधारित भएर बोल्नुपर्ने बताएका छन् ।

‘अरे’ शब्द शब्दकोषबाटै हटाउनुपर्ने भन्दै उनले थपे, ‘आजभोली के भैरहेको छ भने यो पार्टीले यस्तो गर्यो अरेनि, यो मान्छेले यस्तो गर्यो अरेनि भन्दै भ्रम सिर्जना गर्ने काम भएको छ । त्यो भ्रामक कामले हामी जुन गन्तव्यमा पुग्न हिँडिरहेका छौं त्यो गन्तव्यमा ठूलोठूलो खाडल बनाउने काम गर्छ । त्यसैले हामी त्यो भ्रामक कुराबाट पर बसेर सामाजिक सद्भाव र एकतालाई कायम राखेर एकबद्ध भएर अघि बढ्नुपर्छ ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१