संसद समाचार : संसदभित्र बधाई नपाएको विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट आज विश्वासको मत पाएका छन् । दाहालले यो समेत चारपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा फुट आएपछि त्यसको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफूसँग बहुमत रहेको सिध्द गर्न परेकाले प्रधानमन्त्रीले विश्वासको मत मागेका थिए । एमाले सहितको सत्ता गठबन्धनमा रहेका दलहरुको मत प्रधानमन्त्रीले पाएका हुन् ।

दाहालले विश्वासको मत मागिरहँदा प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले वेल घेरेर नारा लगाईरहेको थियो । कांग्रेसको बैठक अवरुध्द गर्ने रणनीतिलाई साथ दिइरहेका अरु प्रतिपक्षी दल उठेर समर्थन जनाईरहेका थिए।

उच्च स्वरमा नाराबाजी भैरहेको सदनमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मत माग्न समय दिएका थिए । उत्तेजित मुद्रामा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षको तीखो आलोचना गर्दै विश्वासको मत मागे । उनले आजको विरोधका लागि ‘भविष्यमा चर्को मूल्य चुकाउनुपर्नेछ’ भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी समेत दिए ।

नेपालको संसदीय अभ्यासमा प्रमुख प्रतिपक्षको विरोधबीच प्रधानमन्त्रीले विश्वासको मत लिएको यो पहिलो अवसर हुनपुगेको छ । प्रतिपक्षले मतदानमा सहभागी नभएर विरोध गरेको पनि यो पहिलो घटना बनेको छ ।

अर्को उल्लेख्य पक्ष के हो भने विश्वासको मत पाईसकेपछि प्रधानमन्त्रीले मतदाता सांसद र समर्थक दललाई धन्यवाद ज्ञापन गर्ने परम्परा रहिआएको छ । त्यसैगरी दलीय प्रतिनिधित्वका आधारमा रोष्ट्रममा उभिएर नेताहरुले प्रधानमन्त्रीलाई बधाई र शुभकामना दिने चलन छ । तर आज यी कुनै पनि औपचारिकता पूरा हुन पाएनन्, आफूलाई विश्वासको मत दिने दलहरुको समेत बधाई नपाई प्रधानमन्त्री सदनबाट बाहिरिनुपर्यो ।

उनलाई सत्ता साझेदार नेकपा एमालेका अध्यक्षले पनि भेटेरै बधाई दिइसकेका छन् ।

मतपरिणाम घोषणा गरेपछि कार्यसूचिका सबै बिषय हटाएर सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेको सूचना सुनाएपछि भर्खरै विश्वासको मत पाएका प्रधानमन्त्री दाहाल व्यक्तिगत शुभकामना लिँदै बाहिरिएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१